सिरहा । सिरहा जिल्लामा ६६.७७ प्रतिशित मतदान भएको छ । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्र्तगत सिरहा जिल्लाभर समग्रमा ६६.७७ प्रतिशत मतदान भएको हो ।
जिल्लाको चारवटै निर्वाचन क्षेत्रको ५ सय ७ मतदान केन्द्रमा २ लाख ७४ हजार वढी मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी अनुसार प्रारम्भिक रुपमा करिब ६५ प्रतिशत मतदान भएको बताएका छन् । मतपेटिका मतगणना स्थल ल्याउने क्रम सुरु भएकोले यकिन तथ्यांक सार्वजनिक गर्न केही ढिला हुने भन्दै प्रजिअ कवारीले छिटफूट घटनासँगै शान्तिपूर्ण मतदान भएको बताएका छन् ।
२ सय २१ मतदान स्थलमा कायम गरिएको ५ सय ७ मतदान केन्द्रमा प्रारम्भिक तथ्यांक अनुसार करिब ६५ प्रतिशत भएको उनले बताएका छन् ।

मतगणना
यसैवीच सिरहाको चारवटै निर्वाचन क्षेत्रमा मतगणना आजदेखि सुरु हुने भएको छ । मतपेटिका ढिला आउने भएकोले मतगणना आज विहान १० बजे सर्वदलीय बैठक पछि सिरहा क्षेत्र नम्बर ३ को मतगणना हुने सूचना जारी गरिएको छ । निर्वाचन अधिकृतको कार्याल १, २ र ४ ले पनि मतगणना आजदेखि सुरु गर्ने जनाएको छ ।
मतगणनाको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षाकर्मी पनि तयारी अवस्थामा रहेपनि मतपेटिका मतगणना स्थलमा ल्याउन ढिला हुनेभएकोले सर्वदलीय बैठकपछि भोली मतगणना सुरु हुने निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मुकुन्द निरौलाले बताए ।
७ प्रशितले मतदान घट्यो
निर्वाचनमा मतदाता उत्साहित भएपनि मतदान प्रतिशत घटेको छ । स्थानीय तह निर्वाचनको तुलनामा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदान दर घटेको छ । जिल्ला निर्वाचन कार्यालय सिरहा अनुसार गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा समग्रमा ७२ प्रतिशत मतदान भएको थियो । कुनै पालिकामा ७५ प्रतिशतको हाराहारीमा र कुनै पालिकामा ७० प्रतिशतको हाराहारीमा स्थानीय तहमा मतदान भएको भन्दै जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदान घटेको बताएका छिन् ।
यस्तै मधेश प्रदेशमा ६२.५ प्रतिशत मतदान भएको छ। मतदानमा उत्साहपूर्ण सहभागितादेखिएन। गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ७० प्रतिशत मतदान भएको थियो। अहिले मधेश प्रदेशमा ६२.५ प्रतिशत मतदान मात्रै हुन सक्यो।
मधेश प्रदेशको बारामा सबैभन्दा ६६ प्रतिशत मतदान भएको अनुमान गरिएको छ।
त्यस्तै रौतहट र महोत्तरीमा ६५ प्रतिशत, धनुषा र सप्तरीमा ६२ प्रतिशत, पर्सा र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ।
अहिले मतपेटिका संकलन गरेर तोकिएको मतगणनास्थलमा पठाउने काम चलिरहेको छ। आजै रातिबाट मतगणना गर्ने तयारी समेत गरिएको छ।
४ जिल्लामा गोली चल्यो
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको दिन मधेश प्रदेशको चारवटा जिल्लामा झडप भएको छ। प्रदेशको ४ जिल्लाको ५ स्थानमा सामान्य झडप भएको प्रहरीले जनाएका छन्।
आइतबार बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको लागि समय निर्धारण गरिएकोमा आठमध्ये ४ जिल्लामा सामान्य विवाद र झडप भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले बारा, रौतहट, सिरहा र धनुषाको पाँच ठाउँमा सामान्य झडप भएको जानकारी दिए।
झडप नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गरेको उनले जानकारी दिए। प्रहरीले सिरहामा ३ राउण्ड र रौतहटमा १ राउण्ड हवाई फायर गरेको हो।



