सिरहा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचारको क्रममा सदरमुकाम सिरहामा आचारसंहिता विपरीत टाँगेका निर्वाचन प्रचार सामग्री आजदेखि हटाउन थालिएको छ । सदरमुकाम सिरहाको शहिद हेमनारायण चौक, ईमलि चौक, महाविर चौक लगायत बजारको विभिन्न क्षेत्रमा टाँगिएका ब्यानरले नगर नै कुरूप बनेको भन्दै सो सामग्री हटाइएका छन् ।

राजनीतिक दललाई आचारसंहिता विपरीतका झन्डा, ब्यानर, पोष्टर हटाउन पटक पटक निर्देशन दिँदै सर्वदलीय बैठकमा लिखित प्रतिबद्धता गरेर नहटाएपछि अनुगमन टोलीले हटाउन थालेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

निर्वाचन आचारसंहिता विपरीत राखेपछि स्थानीय प्रशासनले हटाउन थालिएको भन्दै भारतीय नम्बर प्लेटका गाडीमा उम्मेदवारले झण्डा लगाउन नपाउने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाले बताए । नेपाली नम्बर प्लेटका सवारी साधनमा झण्डा मात्र लगाएर प्रचारप्रचार गर्ने पाउने व्यवस्था भएकाले भारतीय भाडाका गाडीमा झण्डा राखेको पाइएमा गाडी नियन्त्रणमा लिई आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निर्वाचन आचार संहिता २०७९ मा धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतका कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँग्न निषेध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय