नेकपा (एकीकृत समाजवादी)ले काठमाडौँ उपत्यकालाई ऐतिहासिक सम्पदा सहरका रूपमा विकास गर्न पहल गर्ने भएको छ ।
उपत्यकाका तीन जिल्लालाई एकीकृत राजधानी सहरका रूपमा विकास गरी ऐतिहासिक तथा पुरातात्विक संरचना र बस्तीलाई संरक्षित गर्न आवश्यक ऐन निर्माणका लागि पार्टीले पहल गर्ने भएको हो । पार्टीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा उपत्यकालाई सुन्दर, स्वस्थ, स्वच्छ तथा पर्यावरणमैत्री बनाउन उचित मुआब्जा दिई अव्यवस्थित संरचना अधिग्रहण गर्ने, नीति अवलम्बन गरेको छ ।

राजधानीलाई फोहर, हिलो, धुलो र प्रदूषणमुक्त बनाउने, राजधानीका नदी, खोला–नाला र तालमा ढल र फोहर पानी मिसाउन प्रतिबन्ध गरी वाग्मती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत नदी र खोलालाई सफा एवं स्वच्छ राख्ने तथा विद्युतीय वाहन प्रयोगमा जोड दिइएको छ ।पार्टीका प्रचार विभाग सदस्य भूपराज खडकाका अनुसार जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानका लागि अनुकूलन एवं न्यूनीकरण कार्यक्रम सञ्चालन तथा मापदण्डविपरीतका प्लाष्टिक झोला र वातावरणमा प्रतिकूल असर पार्ने सामग्रीको प्रयोगलाई निषेध गरिने छ । स्वच्छ, सुन्दर र आधुनिक राजधानीको अवधारणाअन्तर्गत २०८५ पश्चात् राजधानीमा सञ्चालन हुने सबै सवारीसाधन विद्युतीय हुने गरी व्यवस्था मिलाउन पार्टीले भूमिका निर्वाह गर्ने छ ।
पृथ्वीको गर्भमा जलभण्डार बढाउँदै लैजान, भूस्खलन कम गर्न तथा बाढी नियन्त्रणका लागि वर्षाको पानी सङ्कलन गरी पोखरी एवं ताल–तलैया निर्माण गर्ने, पानी पुनःभरण कार्य गर्ने एवं सिमसार क्षेत्रहरूको संरक्षण तथा संवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गरिने छ । यसबाट वन्यजन्तु र चराचुरुङ्गीलाई पिउने पानी उपलब्ध हुने छ, वनजङ्गलमा हरियाली बढ्ने र यस्ता पोखरीको पानीलाई वनजङ्गलमा लाग्ने डढेलो नियन्त्रणमा पनि प्रयोग गर्न सकिने छ ।
समुदायमा आधारित वन व्यवस्थापनलाई प्रोत्साहन दिँदै दिगो वन व्यवस्थापनमा आधारित प्रणालीमार्फत वनको उत्पादकत्वमा वृद्धि गरी काठ र काठजन्य वन पैदावरमा देशलाई आत्मनिर्भर बनाउने, जैविक विविधता र जलाधार क्षेत्रकोे संरक्षण र संवद्र्धन गर्ने, प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका लागि समुदायसँग सहकार्यका लागि पार्टीले भूमिका निर्वाह गर्नेछ ।
भूमाफियाद्वारा कब्जा गरिएका जमिन फिर्ता लिने र अन्य उपलब्ध सार्वजनिक जमिनको उपयोग गर्दै प्रत्येक पालिकामा सबैका लागि पहुँचयुक्त ठूला आकारका उद्यान र वडा–वडामा साना उद्यानको निर्माण गर्न पहल गर्ने, सबै वडा (सम्भव भएसम्म टोल–टोल)मा बाल उद्यान, बालगृह, ज्येष्ठ नागरिक सेवा केन्द्र आदिको समुचित व्यवस्था गरिने छ ।



