काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ। नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका लामिछानेको पेसी मंगलबार घिमिरेको इजलासमा परेको हो।
बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दिप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौमा सोमबार मुद्दा दर्ता भएको थियो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेका अनुसार सन्दिपविरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणी सम्बन्धी कसुरको दफा २१९ अनुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग दावी गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। आज न्यायाधीश समक्ष बयान हुनेछ। बयान सकिएपछि थुनछेक बहस शुरु हुने घिमिरेले बताए।

थुनछेक बहसका लागि प्रवक्ता घिमिरेको नेतृत्वमा महेश खत्री, सुरबहादुर परियारलगायत जिल्ला सरकारी वकिल कार्यालयका ४ जना वकिलले बहस गर्नेछन्। लामिछानेको तर्फबाट राखिएका वकिलको बहसपछि अदालतले उनलाई थुनामै राख्ने वा धरौटीमा छाड्ने निर्णय गर्नेछ।
प्रवक्ता घिमिरे भने, ‘सन्दिपलाई थुनामै राख्न पर्छ भनेर बहस गर्छौं। थुनामा राख्नका लागि उनीविरुद्ध जुटेका प्रमाणहरु यथेस्ट छन्।’ उनीविरुद्ध परेको आरोप पुष्टि हुने प्रमाण प्रहरीले जुटाएको उनले जानकारी दिए।
लामिछाने विदेश रहेका बेला गत भदौ २१ गते जबर्जस्ति करणीको आरोप लागेको थियो। काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दिपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी बृत गौशालामा उजुरी गरेकी थिइन्।
जाहेरीपछि लामिछाने सम्पर्कविहिन भएका थिए। प्रहरीले प्रक्राउ पूर्जी जारी गरी उनलाई प्रक्राउ गर्नको लागी इन्टरपोलसँग आग्रह गरेको थियो। जाहेरी परेको करिब १ महिनापछि असोज २० गते सन्दिप नेपाल फर्किएका थिए। प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।



