कञ्चनपुर — धान पाकेर पहेंलपुर भएको छ । कतिपय ठाउँमा त बढी पाकेर झर्न थालेको छ । तर अविरल वर्षाका कारण धान बाली भित्र्याउनै नसकिने भएको छ । अझ गहिरो खेतमा धान पूरै डुबेर कुहिन लागेको छ ।
यति बेला कृषकहरूलाई धान बाली भित्र्याउने चटारो हुन्थ्यो । अधिकांशले धान बाली भित्र्याई पनि सक्थे । तर यसपाला वर्षाका कारण खेतमा धान पाकेर पहेंलपुर भए पनि भित्र्याउन सकिएको छैन । ‘धान पाकेर खेतमै झर्न थाल्यो, किरा फट्यांग्राले पनि खान थाले,’ भीमदत्त–११ भुजेलाका जनक धामीले भने, ‘पोहोर साल काटेको धान खेतमै कुहियो, यो साल नकाटेरै बाला झर्न थाल्यो ।’

गत वर्ष कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाले उनको एक बिघाको काटेको धान कुहिएको थियो । खेतमा सबै धान पाकेको छ । अलि–अलि काटेर थुपारिएको छ । थुपारेको पनि पानीले पूरै कुहिसकेको उनले बताए । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लाको दक्षिणी क्षेत्रमा धान बालीमा बढी क्षति भएको छ । पाकेको धान खेतमै ढलेर कुहिने र उम्रिने अवस्था आएको छ भने खेतहरू डुबानमा परेका छन् ।
‘धान खेतमै कुहिने अवस्था आइसकेको छ, धेरैजसो खेत डुबानमा परेको छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर विष्टले भने, ‘अझ पनि वर्षा नरोकिए धानको उत्पादनमा ठूलो ह्रास आउन सक्छ ।’ उनका अनुसार हालसम्म जिल्लाभरिमा ५/७ प्रतिशत मात्रै धान बाली भित्र्याइएको छ । जुन छोटो अवधिमा पाक्ने जात हो । अहिले लामो अवधिको जात पनि पाक्ने बेला भइसकेको छ ।
कञ्चनपुरमा ४८ हजार हेक्टरमा धान खेती हुने गरेको छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर ४ मेट्रिक टन छ । गत वर्ष झैं यस पटक पनि उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ । गत वर्ष धानको उत्पादकत्व दुई/अढाई मेट्रिक टनमा झरेको थियो । कृषि ज्ञान केन्द्रका अनुसार दक्षिणी क्षेत्रको लालझाडी, बेलौरी, पुनर्वास र बेलडाडीमा बढी क्षति भएको छ । उक्त क्षेत्र धान उत्पादनका लागि अब्बल मानिन्छ । धान उत्पादनका लागि जिल्लाकै आधाभन्दा बढी भाग ओगटेको उक्त क्षेत्रमा कटान र डुबान पनि बढी हुने गरेको छ ।
लालझाडी, बेलौरी र पुनर्वास क्षेत्रमा अधिकांश धान खेतहरू डुबानमा परेका छन् । पाकेर ढलेको धान खेतमै उम्रिन लागेको ज्ञान केन्द्रका प्रमुख विष्टले बताए । उनले डुबानमा परेको धानको दानासमेत काम नलाग्ने बताए । धान बाली मात्रै नभई वर्षाले तरकारी खेतीमा पनि असर पुर्याएको छ ।
हिउँदे तरकारी उत्पादनमा पनि ह्रास आउने विष्टले बताए । अहिले हिउँदे तरकारी लगाउनुपर्ने बेला हो । तर वर्षाले तरकारी लगाउन नै नसकिएको र लगाएको पनि सुकेको विष्टले बताए । तोरीको उत्पादनमा पनि ह्रास आउन सक्ने देखिएको छ ।




