सिरहा । मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन भयरहित शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवालासँग छलफल गरेको छ ।
मुख्य निर्वाचन अधिकृत काजी बहादुर राईको अध्यक्षतामा भएको बैठकमा जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि, सिरहाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु र पत्रकारहरुको सहभागिता रहेको थियो । यस पटक सिरहा जिल्लाको चार वटै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसँग सम्बन्धित कामहरु त्यहीबाट गर्ने भएकोले पनि दलहरुसँग निर्वाचनका विभिन्न गतिविधि र सुरक्षा व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको सिरहा नगरपालिकाको सभाहलमा भएको छलफलमा दलहरुले निर्वाचन आचारसंहिता उलंघनका घटना सिरहा जिल्लामा धेरै हुने गरेकोले त्यसलाई रोक्न प्रभावकारी काम गर्नुपर्ने माग गरेका थिए । उम्मेदवारहरुले मतदातालाई आकर्षित गर्न रुपैयाँ बाड्ने, साडी बाँड्ने, दारु बाडँ्ने, मासु बाँड्ने जस्ता काम विगतका दिनहरुमा भएकोले त्यसलाई रोक्न पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्नुपर्ने माग राप्रपाका जिल्ला अध्यक्ष शम्भु प्रासद यादवले गरेका थिए ।

यस्तै नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य सुरेन्द्र कुमार कामतिले निर्वाचन सम्बन्धी सुचना संकलनमा सञ्चारकर्मीलाई सहजता हुनेगरी चार वटै निर्वाचन क्षेत्रले समन्वयकारी भूमिका खेल्नुपर्ने बताएका थिए । विगतमा निर्वाचनको समाचार र सूचना संकलनमा निर्वाचन अधिकृतकै कार्यालयहरुबाट अवरोध हुने गरेको स्मरण गराँउदै सदस्य कामतिले विश्वसनीय सूचना प्रवाह गर्न समन्वयकारी भूमिका निर्वाह गर्न र सूचना डेस्क स्थापना गर्न माग गरेका छन् ।
मुख्य निर्वाचन अधिृकत राईले विगतमा जस्तो यस पटकको निर्वाचनमा आचारसंहिता विपरीतका गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै सूचना संकलनको निम्ति डेस्क स्थापना गर्न आवश्यक पहल गर्ने बताएका छन् । नागरिकसँग सत्य तथ्य सूचना प्रवाह हुनुपर्ने भएकोले आफूहरु सर्तक भएर सूचना प्रवाहलाई सहज बनाउने प्रमुख निर्वाचन अधिकृत राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय