काठमाडौं । काठमाडौंमा भीआईपीको सवारी हुने भएपछि आन्दोलनरत मिटरब्याज पीडितमाथि प्रहरीको लाठी बजारिएको छ ।
आज चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिका सदस्य तथा राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणमा आएका छन् । उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बानेश्वर माइतीघर हुँदै सवार हुने तय थियो ।

कीर्तिपुर बस्दै आएका नवलपरासीका मिटरब्याज पीडितहरूले माइतीघरमा धर्ना दिने तयारी गरेका थिए । तर, प्रहरीले उनीहरूलाई आजका लागि आन्दोलनका कार्यक्रम नगर्न आग्रह गरेको थियो । तर, उनीहरूले नमानेपछि प्रहरीसँग कीर्तिपुरमै झडप भएको उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
“आज चिनियाँ भीआईपीको सवारी थियो । मिटरब्याज पीडितहरूले आन्दोलन गर्ने रुटमै पर्यो । त्यसैले रोक्नुस् भनेका थियौँ । फेरि उहाँहरू बानेश्वरतिरै जान खोज्नुहुन्थ्यो । अन्ततिर जान पनि भनेका थियौँ । तर मानेनन्,” एसपी रिजालले भने ।
झडपमा प्रहरीले लाठी चार्ज गर्दा प्रदर्शनमा सहभागी कुलबहादुर थापा घाइते भएका छन् । अहिले ३५ जना मिटरब्याज पीडितहरू कीर्तिपुर प्रहरी वृत्तमै छन् । उनीहरूले प्रहरी कार्यालयमा पनि नाराबाजी गरेका छन् ।
आज बिहान उनीहरू प्रदर्शनका लागि माइतीघर मण्डलातर्फ हिँडेका थिए । तर प्रहरीले हस्तक्षेप गरेपछि उनीहरूले कीर्तिपुरमै धर्ना सुरु गरेका थिए ।
मिटरब्याजी साहुको मारमा चर्को ब्याजको पासोमा परेका उनीहरू पहिले गौशलामा बस्थे । पछि त्यहाँ असुविधा भएपछि कीर्तिपुर सरेका थिए ।



