अवैध संरचना हटाउने अभियान थालेको काठमाडौं महानगरपालिकाले सोमवार बालाजु क्षेत्रका अवैध संरचनामाथि डोजर चलाएको छ । मेयर बालेन्द्र साह (बालेन)को सक्रियतामा शुरू भएको अभियानअन्तर्गत सोमवार बालाजुस्थित माछापोखरी क्षेत्रका अनधिकृत संरचना हटाइएको हो ।
महानगरपालिकाले गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजर लगाएर भत्काएको छ ।

यसअघि आइतवार काठमाडौं महानगरपालिकाले जडिबुटी क्षेत्रको अवैध संरचना हटाएको थियो ।
महानगरपालिकाले नक्सा पास नगरी निर्माण गरिएका भौतिक संरचना र प्रयोजनविपरित प्रयोग गरिएका संरचनाहरू हटाउन थालेको हो । महानगरपालिकाले व्यवसायिक भवनहरूले बेसमेन्टमा पार्किङ राख्ने भनेर नक्सा स्वीकृत गराए पनि पार्किङ नराखी अन्य प्रयोजनमा प्रयोग गरेकाहरूलाई खाली गराइरहेको छ ।
अभियानको शुरुआतमा मेयर बालेन आफै फिल्डमा खटिएर अनधिकृत संरचनाहरू हटाएका थिए । पछिल्लो समय महानगर प्रहरीको नेतृत्वमा अनधिकृत संरचनाहरू हटाउने काम भइरहेको छ । महानगरपालिकाले महानगरका ३२ वटै वडामा निर्माण गरिएका अवैध संरचनाहरू हटाइने जनाएको छ ।
हालसम्म सुनधारा, न्यूरोड, त्रिपुरेश्वर, नयाँबानेश्वर, काटेश्वर, जडिबुटी, गोंगुबलगायतका क्षेत्रका अनधिकृत संरचना महानगरपालिकाले हटाइसकेको छ ।



