सिरहा । सिरहा नगरपालिकाको छैठौं नगरसभा आज हुँदैछ । लामो विवादका कारण रोकिएको चालू आर्थिक वर्ष २०७९/०८० को नगरसभा कार्यपालिका सदस्यहरुवीचमा भएको सहमतिसँगै निश्चित भएको हो ।
कानूनतः असार १० मा सुरु हुनुपर्ने नगरसभा यसपाली नवनिर्वाचित जनप्रतिनिधिवीचमै सहमती हुन नसक्दा रोकिन पुगेको थियो । विभिन्न दल र स्वतन्त्रबाट निर्वाचित भएका जनप्रतिनिधिवीचमा तालमेल नमिल्दा नै नगरसभा रोकिन पुगेको थियो । पटकपटकको छलफलपछि सोमवारको कार्यपालिका बैठकले नगरसभा गर्ने सहमतिमा पुगेको हो ।
व्यापक जनदबाबपछि निर्वाचित जनप्रतिनिधिहरु विवादलाई सहमति ढाल्न सफल भएको हो । नगरसभा नहुँदा विकास नै अबरुद्ध हुने भन्दै नवनिर्वाचित जनप्रतिनिधिहरुको व्यापक आलोचना भईरहेको थियो । चिया पसलदेखि समाजिक सञ्जालमा नगरसभा गर्न दबाब दिने काम भएको थियो ।

छौठों नगरसभाबाट नगरलाई सफा, सुन्दर, हराभरा बनाउनु पर्ने, शिक्षा स्वास्थ्य क्षेत्रमा विशेष जोड दिनुपर्ने र कृषिलाई उच्च प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र योजना आउनु पर्ने अपेक्षा नागरिकको रहेको छ । प्रयाप्त खेतीयोग्य जमिनलाई उत्पानसँग जोड्न खेतीकर्ममा नगरपालिकाले लगानी गर्नुपर्ने, सामुदायिक विद्यालयको शैक्षिक स्तरलाई माथि उकास्दै शिक्षाको गुणात्मक परिवर्तनमा जोड दिनुपर्ने माग नागरिकको रहेका छ ।
नगरसभाले पूर्वाधार विकास अन्र्तगत ढल, सडकको निर्माण गर्दा दीगो हुनेगरी गर्नुपर्ने माग रहेको छ । त्यससँगै नगरक्षेत्रभित्र राम्रो खेलकुद मैदानको निर्माण गर्नुपर्ने, युवाहरुमा बढ्दो लागुऔषधको दुव्र्यसन रोक्न विशेष कार्यक्रम आउनुपर्ने माग नगरवासीको रहेको छ ।
सिरहा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले वातावरण मैत्री र स्वास्थ्यको निम्ति महत्वपूर्ण रहेकोले पनि साईकल चढ्नुपर्ने संस्कारको विकास गर्नुपर्ने आफ्नो माग रहेको स्थानीय युवा जितेश कर्णले बताएका छन् । उनले भने,‘जनप्रतिनिधिले सातामा कम्तीमा ३ दिन साईकल चढ्नुपर्छ । यसले इन्धनको वचत, वातावरणको प्रदुर्षण रोक्न सक्छ ।’

सिरहा नगरपालिका–१८ का सुशिल कुमार यादवले गाउँघरमा निर्माण गरिने स–साना सडकको संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन् । सडक निर्माण गर्दा करौडौं रुपैयाँ पालिकाले खर्च गर्दै आएपनि त्यसको संरक्षण गर्न नसक्दा एउटै सडकमा पटकपटक रकम खर्चिनुपर्ने बाध्यता अन्त गर्नु नगरपालिकाले जोड दिनुपर्ने बताएका छन् । नयाँ निर्माण गरिएका सडकहरुको दीगो रहन् गाईवस्तु बाध्ने, सडक अतिक्रमण गर्ने जस्ता कार्यलाई रोक्न पनि नगरपालिकाले नीति ल्याउनु जरुरी भएको यादवले बताएका छन् ।
यस्तै सिरहा भन्सार कार्यालय माडरको विस्तार, कमला नदीको पुल निर्माणमा समन्वय, जिल्ला अदालत सिरहाको भवन निर्माणको निम्ति जग्गाको बन्दोबस्ती गर्न पनि सिरहा नगरपालिकाले यस सभाबाट नीति लिनुपर्ने सिरहा नगरपालिका १२ का मनोज मण्डलको भनाई रहेको छ । सिरहा सदरमुकामको विस्तार गर्न पनि सिरहा भन्सार कार्यालय माडर, जिल्ला अदालत सिरहाको लागि जग्गा व्यवस्थापनमा सहजीकरण गर्ने नीति लिनुपर्ने, कमला नदी पुलको निर्माण गर्न समन्वय गर्ने नीति लिनुपर्ने माग नागरिकको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय