अपन दैनिक ब्यूरो ।
सिरहा, भदौं १२ गते । जिल्ला अदालत अगाडी प्रायः दैनिक रुपमा जिल्लाको विभिन्न स्थानबाट आईपुग्ने प्रहरीको भ्यान र सेवाग्राहीको मोटरसाईकल र जीप÷कारको भीड लाग्ने गर्छ । अदालत परिसर अगाडी पार्किङ गरी राखिने प्रहरी भ्यान र सेवाग्राहीको सवारीसाधनले गर्दा सडक अस्तव्यस्त हुने गर्छ ।
जिल्ला सदरमुकाम सिरहाको ट्राफिक अस्तव्यस्त रहेको छ । सदरमुकाम र नगरपालिका भएकोले सार्वजनिक विदा वाहेकका दिन व्यापक भीडभाड हुने गरेको सिरहामा ट्राफिक व्यवस्थापन मुख्य समस्या देखिएको छ ।
करिब दुई किलोमीटर सडकक्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । सवारीसाधन जथाभावी पार्किङ गरिेन्छ । मुख्य सडक नै बिग्रिएको छ । मुख्य सडकको महावीर चौकदेखि सहिद राजेश ठाकुर पार्क (थाना चौक) सम्म सयौं ठाउँमा सडक भत्किएको छ । सडक विस्तार र स्तोरोन्नती नहुँदा सिरहा सदरमुकाम नै कुरुप र अस्तव्यस्त देखिन्छ ।
बढ्दो सवारी चापले गर्दा सिरहा सदरमुकामको सडकको ट्राफिक व्यवस्थापन अस्तव्यव्स्त भईरहँदा सम्बन्धित सरोकारवालाले मौनता साधेको छ । ट्राफिक प्रहरी कार्यालयदेखि उद्योगी व्यवसायी, स्थानीय राजनीतिक दल, प्रशासनले पनि सदरमुकाम सिरहाको मुख्य सडक विस्तार र स्तोरोन्नी गर्नमा प्रभावकारी भूमिका नखेल्दा पैदलयात्रुलाई दैनिक सास्ती भोग्नु परेको छ ।
सडक असुरक्षित र जोखिमपूर्ण भएपछि पैदलयात्रीलाई सवैभन्दा जोखिमको सामना गर्नु परेको छ । सडक फराकिलो र व्यवस्थित नहुँदा अव्यवस्थित पार्किङ हुनु, सडकमा पैदलयात्री हिड्ने बाटो नहुनु, ढल व्यवस्थापन, खानेपानी व्यवस्थापन, विद्युतको पोल, टेलिफोनको पोल व्यवस्थित नहुनु र सडकलाई हराभरा गर्न वृक्षारोपण नहुनु जस्ता समस्या ज्यूकाँत्यूँ देखिएको छ । सिरहा सदरमुकामको मुख्य सडकको अवस्था दयनीय र जोखिमपूर्ण रहँदा सरोकारवालले अझैं चासो राख्न सकेको छैन् ।
महावीर चौक, हेमनारायण चौकमा म्याजिक भ्यान, टेम्पु, वींगर जस्ता सवारीसाधनको अव्यवस्थित पार्किङले पनि समस्या निम्त्याएको छ । एकातिर सडक फराकिलो र व्यवस्थित नुहुनु र अर्कोतर्फ म्याजिक भ्यान, वींगर, टेम्पो जस्ता सानो सवारीसाधानले जथाभावी यात्रुलाई ओराल्ने र चढाउने गर्दा पनि सडकमा ट्राफिक व्यवस्थापनको समस्या देखिएको छ । त्यससँगै स्थानीय व्यापारमा पनि प्रभाव पारिरहेको व्यवासायीहरुको गुनासो गरेका छन् । स्थानीय व्यवसायी जीतेश कर्णले सडक व्यवस्थित नहुनु र म्याजिक, टेम्पो, वींगर जस्ता सवारीसाधनले जथाभावी यात्रु चढाउनु र ओर्लानुले जोखिम बढाएको र व्यापार व्यवसायमा समेत असर पारेको बताएका छन् ।
सिरहा सदरमुकामको मुख्य सडक सुन्दर, व्यवस्थित बनाउन सडक स्तोरोन्नती, हराभरा र ट्राफिक व्यवस्थापन हुनु जरुरी रहेको स्थानीय अगुवा शम्भू साहले बताएका छन् । सडकको स्तोरोन्नीले सिरहा बजार झन् व्यवस्थित, सुन्दर र आकर्षित देखिने भन्दै नेकपाका युवा नेता अरविन्द यादवले बजारक्षेत्रको सडक विस्तार अति जरुरी भएको बताएका छन् । ‘सडक स्तोरोन्नती भएपछि ढल, खानेपनी, विजुलीको पोल, वृक्षारोपण जस्ता कामहरु गर्न र पैदलयात्रु हिड्न सजिलो हुन्छ,’ उनले भने ।





