काठमाडौं । सोमबार एकाएक जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवद्वारा मधेश प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएको कुरा सार्वजनिक भयो ।

जसपा अध्यक्ष यादवले पार्टीको बैठकपछि मंसिर ४ को निर्वाचनको मुखमा यस्तो निर्देशन दिएका थिए । तर, मंगलबार नै उक्त कुरा आफूले नभनेको दाबी अध्यक्ष यादवले गरेका छन् ।

उनले निर्वाचनको मुखमा मुख्यमन्त्री फेर्न नहुने भन्दै उल्टै बचाउ गरे। ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान र मुख्यमन्त्री अन्तर्गतका अन्य योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हात हालेर भ्रष्टाचारको मुद्दा दायर गर्न थालेपछि यादवले उनलाई हटाएर आफू अनुकुल व्यक्तिलाई मुख्यमन्त्री बनाउन चाहेका थिए ।

मुख्यमन्त्री अन्तर्गत रहेको बेटी पढाऊ, बेटी बचाऊ अभियानमा साइकल खरिद गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि राउत विवादमा तानिएका थिए ।

उनीविरुद्ध मुद्दा दायर नभए पनि सचिवहरुविरुद्ध मुद्दा दायर भएकाले मुख्यमन्त्रीको पनि संलग्नताको प्रश्न उठिरहेको थियो। मुख्यमन्त्रीको महत्वाकांक्षी योजनाको रुपमा अघि सारेको उक्त कार्यक्रममा अख्तियारले भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेपछि राउतको विषयमा पार्टीभित्र अर्को समूहले यादवलाई दबाब बढाएका थिए ।

निर्वाचन आउन लागेकाले मुख्यमन्त्रीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेमा पार्टीकै बदनाम हुने भएकाले त्यसअघि नै उनलाई पदबाट हट्न निर्देशन दिनुपर्ने दबाब पार्टीभित्र सिर्जना भएपछि यादवले राउतलाई निर्देशन पनि दिएका थिए ।

तर, एकदिनपछि नै यादव ‘यूटर्न’ भएका छन् । मंगलबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष यादवले भने, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन । मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन, हटाउने कुनै योजना पनि छैन ।’

उनले यसरी बोली परिर्वतन किन गरे त भनि अहिले चर्चा भइरहेको छ। यादवले बोली परिर्वतन गरेको कुरा जसपाका प्रवक्ता मनिष सुमनले स्वीकार गरे। काठमाडौंमा भएको राजनीतिक समितिको बैठकमा पनि मुख्यमन्त्रीका विषयमा प्रश्न उठेको र जनकपुरमा भएको बैठकमा पनि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने कुरा आएको उनले बताए ।

प्रवक्ता भन्छन्– हिजै पनि अध्यक्षले राजीनामा गर्न निर्देशन दिनुभएको हो
‘केही दिनअघि अध्यक्षले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिनु भएको हो’, प्रवक्ता सुमनले भने, ‘अब कहिले दिने त मुख्यमन्त्रीको कुरा हो। पार्टी अध्यक्षले निर्देशन भने दिनु भएको हो ।’

हिजै पनि पार्टी अध्यक्षले दोहोर्‍याएर राजीनामा दिनका लागि निर्देशन दिएको सुमनले दाबी गरे। उनले मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार बन्ने र को मुख्यमन्त्री भन्ने विषयमा भने केही छलफल नभएको बताए ।

अहिले नै किन राजीनामा गराउनु परेको भनि सोधेको प्रश्नमा उनले  मुख्यमन्त्रीका कारण प्रदेश सरकारप्रति वेथिति, अलोकप्रियताको ट्याग लागेको देखिएको र जनताप्रति पार्टीको जिम्मेवारी बोध गरेर काम गर्न नसकेकाले हटाउनुपरेको बताए ।

उनले पार्टीले मुख्यमन्त्री कसलाई बनाउने विषयमा अलग्गै छलफल गर्ने बताए ।

उपेन्द्र यादव किन पछि हटे त ?
यादव मुख्यमन्त्री परिर्वतन गर्ने कुराबाट पछि हट्नुको तीन कारण देखिएको उनी निकट नेताहरु बताउँछन् । पहिलो कारण मधेशमा रहेको मुस्लिम मत । यादवले मुस्लिम समुदायबाट मुख्यमन्त्री भएका राउतलाई हटाउँदा मुस्लिम समुदायहरुले जसपाको विपक्षमा उभिने चेतावनी दिएपछि यादव पछि हटेको देखिन्छ ।

सोमबार साँझ अध्यक्ष यादवलाई भेटेर मुस्लिम समुदायका प्रभावशाली व्यक्तिहरुले मुख्यमन्त्रीलाई हटाउँदा राम्रो सन्देश नजाने र मुस्लिम समुदायले अपमानको महशुस गर्दै मंसिर ४ मा हुने निर्वाचनमा विपक्षमा उभिनुपर्ने अवस्था आउनसक्ने चेतावनी दिए। यो विषय झन् विवादित हुने देखेपछि यादवले आफ्नो निर्णय पूनर्विचार गर्ने पक्षमा पुगेका हुन् ।

मधेशका अधिकांश जिल्ला मुस्लिमहरु समुदायको पकेट क्षेत्र हो, जसको मतले धेरै नै असर पर्ने बुझाई यादवमा रहेको छ। जसपा विभाजन भएर लोसपासमेत निर्माण भएर कमजोर भएको अवस्थामा थप समुदायको मत भड्काउन नहुने सोचका साथ यादव फिर्ता भएको देखिन्छ ।

यादव ब्याक हुनुको दोस्रो कारण मंसिर ४ मा आउँदै गरेको निर्वाचनमा पार्टीभित्र झन् मतभेद आउन सक्ने आकलन । अहिले मुख्यमन्त्रीलाई हटाउँदा भर्खरैमात्र बाबुराम भट्टराई पक्ष बाहिरिएको र महन्थ ठाकुरहरुले लोसपा गठन गरेकाले मतभेद बढाउँदा झन् कमजोर हुने हो कि भन्ने डरका कारण अबको तीन महिना कुनै कारबाही नगर्नु नै उपयुक्त हुने सुझाव यादव निकटहरुले दिएका छन् ।

यादव यो तर्कमा सहमत भएकाले बोली फेरेको हुनसक्ने उनी निकट नेताले बताए। तेस्रो कारण भनेको अहिले मुख्यमन्त्री हटाएर एकल सरकार बनाउन सक्ने सम्भावना न्यून देखिनु। भइरहेको सरकारमा कूल १०१ जना सांसद छन्। जसमध्ये तत्कालीन राजपाका एक जना सभामुख छन् ।

हाल जसपा ३८, लोसपा १५, नेपाली कांग्रेस १८, एकीकृत समाजवादी १३, माओवादी र एमाले ८/८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद रहेका छन् । १०५ सांसदमध्ये माओवादीको तीन जनाको खारेज भएको थियो भने एक जनाको मृत्यु भएको थियो ।

सरकार बनाउनका लागि जसपा एक्लैको प्रयासले सम्भव देखिँदैन। त्यसका लागि सत्ता गठवन्धनसँग सहयोग लिनुपर्नेछ वा लोसपासँग मिल्नुपर्ने छ। यसले फेरि भागबन्डाको संरचना फेर्नुपर्ने भएकाले निर्वाचनमा केन्द्रित हुने समयमा त्यतातिर लाग्दा झन् कमजोर हुने आकलन अध्यक्ष उपेन्द्र यादवले गरेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय