सिरहा । सिरहामा मिटरब्याजमा ऋण लगाएर उठीबास लगाउने कुख्यात साहुकारहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनेको संख्या करिब तीन सय पुगेको छ ।
मिटरब्याजीबाट पीडित भएकाहरुले आइतबार साँझसम्ममा उजुरी दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीबाट पीडित रहेका २ सय ८९ जनाले उजुरी दताए गराएका छन् । मिटरब्याजबाट पीडितहरूको समस्या सम्बोधन गर्न सरकारले गठन गरेको कार्यदलले आइतबारसम्म उजुरी दिन आह्वान गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी समेत रहेका प्रशासकीय अधिकृत भवेश कुमार झाले कुख्यात साहुकारहरूविरुद्ध सिरहा जिल्लाका विभिन्न स्थानका पीडितहरुले उजुरी दर्ता गराएको बताएका छन् । ‘साहुकारबाट पीडित हुनेहरूको आवाज देशभरबाट आउन थालेपछि कार्यदल गठन गरिएको हो । पीडितलाई उजुरी दिन आह्वान गरिएको ५ भदौसम्मको अवधिमा २ सय ८९ जनाले जाहेरी दिए । ती जाहेरी अध्ययनको काम सुरु भएको छ,’ सूचना अधिकारी झाले भने ।

पीडितहरूले नजिकको प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको सूचना अधिकारी झाले बताएका छन् । ‘आइतबार साँझसम्म जाहेरी दिने म्याद थियौँ । संकलित जाहेरीलाई एक–एक गरी केलाउँछौँ र के गर्ने निर्णयमा पुग्छौँ,’ सूचना अधिकारी झाले भने,‘सरकारले गत २७ साउनमा मिटरब्याजबाट पीडितको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन गरी देशभर उजुरी दिन अह्वान गर्यो । त्यही अनुसार सिरहा जिल्लामा पनि उजुरी परेको छ ।’
कार्यदलमा गृह मन्त्रालयका दुईसहित नेपाल प्रहरीका तीन र राष्ट्रिय अनुसन्धान विभागका एक प्रतिनिधि गरी ६ उच्च अधिकारी रहेका छन् । गत २९ साउनमा कार्यदलले विज्ञप्तिमार्फत ५ भदौसम्म नजिकको प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिक रूपमा आह्वान गरेको थियो । त्यससँगै देशभरीबाट उजुरी दिनेको जिल्ला प्रशासनमा भीड नै लागेको थियो । देशभरीबाट सवैभन्दा वढी उजुरी मधेश प्रदेशका आठ वटै जिल्लाबाट परेको गृह मन्त्रालयको तथ्यांक रहेको छ ।



