सिरहा । सिरहा नगरपालिका–१२ मा रहेको प्राचीन सारस्वरनाथ महादेव मन्दिर अगाडीको जग्गा खरिद प्रकरणमा नेकपा एमाले र नेपाली काँग्रेस आमनेसामने देखिएको छ ।
साविक गाविस सारस्वर वडा नम्बर १ को कित्ता नम्बर ३१८३ (हाल सिरहा नगरपालिका–१२) को १ कट्ठा ७ धुर जग्गा खरिद विषयमा भएको विवाद र कुटपिटको घटनामा दुवै राजनीतिक दल आमनेसामने खडा भएको छ । स्थानीय रामप्रकाश ठाकुरको नाउँमा दर्ता रहेको उक्त जग्गा स्थानीयवासीको छलफलमा पार्वती मन्दिर निर्माण गर्न चन्दा असुल गरी खरिद गर्ने सहमति भएको थियो । त्यही सहमति अनुसार जग्गा पास गराउने क्रममा सिरहा मालपोत कार्यालयमा नेपाली काँग्रेसका महासमिति सदस्य जिवछ गुप्ता लगायतको पक्षसँग सिरहा नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष शिव शंकर झापक्षसँग विवाद सुरु भएको थियो । उक्त विवाद कुटपिटमा परिणत भएको थियो । कुटपिटका क्रममा पूर्व गाविस अध्यक्ष समेत रहेका काँग्रेस महासमिति सदस्य गुप्ता घाईते भएका छन् ।

यसै घटनालाई लिएर नेपाली काग्रेस वडा समिटि र सिरहा प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का क्षेत्रीय समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै ज्यान मार्ने उद्योगमा कारबाही बढाउनु पर्ने माग गरेको छ । प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता नगरी अभद्र व्यवहारमा मुद्दा दर्ता गर्दै कुटपिटका संलग्न वडा अध्यक्ष शिव शंकर झालाई उम्काउन खोजेको नेपाली काँग्रेसका आरोप रहेको छ ।
यता नेकपा एमालेले सर्वसम्मत रुपमा जग्गा खरिद गर्ने सहमति बनेको र त्यही अनुसार प्रकृया अगाडी बढेपछि पूर्व गाविस अध्यक्ष गुप्ताले अवरोध सृजना गरेको जनाएको छ । नेकपा एमाले नगर कमिटि अध्यक्ष दिपक कुमार यादवको हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई बुझाईएको ज्ञापन पत्रमा मन्दिरको लागि जग्गा खरिद प्रकृया पूरा हुनै लाग्दा सरोकार नै नभएको पूर्व गाविस अध्यक्ष गुप्ता र उनको भाई नथु भन्ने नारायण प्रसाद गुप्ताले विवाद सृजना गरेको जनाईएको छ । उक्त घटनामा वडाअध्यक्ष झा लगायतका व्यक्तिमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरिएकोले सो मुद्दा फिर्ता लिन नेकपा एमाले नगर कमिटिले माग गरेको छ । मुद्दा खारेजी र पक्राउ गरिएका सन्तोष कुमार झालाई थुनामुक्त नगरिए चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने नेकपा एमाले सिरहा नगर कमितिले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

नेपाली काग्रेसका क्षेत्रीय सभापति संजय प्रकाश यादवले पूर्व गाविस अध्यक्षमाथि वडा अध्यक्षले नै कुटपिट गरेकोले कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् । अपन दैनिकसँग कुराकानी गर्दै सभापित यादवले कानूनसम्मत तरिकाले कारबाही प्रकृया अगाडी बढाउन गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको भन्दै कारबाही नगरिए आफूहरु आन्दोलनमा उत्रिने बताएका छन् ।
सिरहामा मन्दिरको जग्गा खरिद प्रकरणमा नेकपा एमाले र नेपाली काँग्रेस आमनेसामने आएको यो पहिलो घटना हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले घटना सम्बन्धमा प्रहरीले अनुसंधान भईरहेको र आवश्यक कानूनी प्रकृया अगाडी बढ्ने बताएका छन् । शान्ति सुरक्षाको जिम्मेवारी पनि आफ्नो भएकोले यस घटनावारमा प्रशासनले गम्भीर ढंगले अनुसंधान गरिरहेको प्रजिअ कवारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय