✍️✍️✍️ कृष्ण
जसले प्रेम प्रस्ताव राखेको थियो, उसले उता बाट यही जवाफ पाएको थियो।

प्रिय मान्छे,
थाहा छैन मैले तिमीलाई किन ‘प्रिय’ भनेर सम्बोधन गरेँ। किनभने त्यो शब्द उच्चारण गर्ने अधिकार तिमीले मलाई कहिल्यै दिएको छैनौ। तर मनले मानेन, त्यसैले प्रिय भनेर सम्बोधन गरेँ। गल्ती भए आफ्नै ठानेर माफ गरिदिनु। म जे जस्तो छु, तिमीलाई सायद खासै फरक नपर्ला, तर म ईश्वरसँग प्रार्थना गर्छु — तिमी जहाँ, जसरी भए पनि सधैं खुसी रहोस्।
आजभन्दा चार वर्ष अघि मैले तिमीलाई पहिलोपल्ट ती शहरका साँघुरा गल्लीमा देखेको थिएँ — ख्याउटे शरीर, लामो कपाल, ठूला ठूला आँखा, कालो मोटा आईलाइनर, अनि मुस्कानले झल्किएको अनुहारको चमक। तिमी सानैदेखि अरूभन्दा फरक स्वभावकी थियौ। बाहिर जस्तोसुकै देखिए पनि, भित्रको सौन्दर्यले मनमा तान्थ्यो।
करिब छ महिनासम्म तिमीलाई केही भन्न सकिनँ। टाढैबाट हेरिरहन्थेँ, मुस्कान आदानप्रदान हुन्थ्यो, इशारामा कुरा हुन्थी। तर तिमी मेरो मन, मुटु, दिमाग, मस्तिष्क र लिभरमा पनि घुम्थ्यौ। केही भन्यो भने रिसाएर रातो हुने बानी तिम्रो मनमोहक लाग्थ्यो। मैले गरेका धेरै प्रश्नको तिमीले कहिल्यै चित्तबुझ्दो उत्तर दिइनौ, तर पहिलो पटक भेट्दा गरेको त्यो ‘Hi’ आज पनि दिमागमा बजिरहेछ।
प्रेम प्रस्ताव
समय बित्दै गयो। दुई वर्ष अघि मैले आफैंलाई भनें — “अब भन, ढिलो नगर।” कति साथीहरूले सोध्थे, “लभ पर्यो कि छैन?” तर भित्र डर पनि थियो।
एक साँझ, मनले साथ दियो र हिम्मत जुटाएँ। मैले भनें — “I love you dear, you are my heart. तिमी मलाई धेरै मन पर्छौ। म असाध्यै माया गर्छु। अहिले लोकसेवा तयारी गर्दै छु, जागिर लागेपछि तिम्रो परिवारलाई प्रस्ताव पठाउँछु। नलागे भने तिमी अस्वीकार गर्न सक्छौ।”
तर तिम्रो उत्तर… आज पनि कानमा बज्छ —
“Sorry, तिमी मलाई मन पर्दैनौ।”
“तिमीमाथि मलाई interest छैन।”
“तिम्रो नाम सुन्दा नै hate लाग्छ।”
“मेरो दैनिक खर्च बीस हजार हो।”
“जागिर भए पनि तिमी मलाई मन पर्दैनौ।”
“मेरो आमा-बुबालाई पनि तिमी मन पर्दैनौ।”
त्यो सुन्दा म ठमक्क परेँ। केही बोल्ने साहस भएन। रातभर निन्द्रा लागेन। लोकसेवा परीक्षा टाउकोमाथि थियो, मुटु च्यातिए पनि मनलाई सम्हाल्दै परीक्षा दिएँ। अन्ततः ज्वरोले ग्रसित भएर तिम्रो शहर छोडेँ।
आत्मस्वीकृति
आज बुझें — प्रेम भनेको आभास हो, अभिव्यक्ति होइन। शब्दमा बाँध्न नसकिने, मनमा मात्र महसुस गर्न सकिने अनुभूति हो। मन, सोच, विचार र इच्छाको मिलनबाट प्रेम सृजना हुन्छ, त्यो लोभ, मोह र आकर्षणको मिश्रण हो — जसले आत्मा हल्लाउँछ।
अन्त्य
यदि मैले तिमीलाई कहिल्यै दुख्याएँ भने, मलाई माफ गरिदेऊ। यो कुरा गोप्य रहोस् भन्ने बोध पनि तिमीले गरिदेऊ।

लेखक ः कृष्ण कुमार साह प्रादेशिक अस्पताल सिरहाका लेखा पाल हुन ।



