कास्की । पोखरामा ठूलो बसपार्क पृथ्वीचोकमै छ । पुरानो पोखरा विमानस्थलसँग जोडिएको बसपार्क अतिक्रमणको चपेटामा परेपछि ठूलो बस्ती बन्यो । अहिले सुकुमवासी बस्तीले बसपार्क निर्माणमा राज्यलाई निल्नु न ओकल्नु बनाइरहेको छ । काठमाडौंका सुकुम्बासी बस्ती हटाउन थाले पछि कास्कीमा पनि हलचल सुरु भएको छ ।
सुकुमबासीकै कारण पोखरा–९ पृथ्वीचोकमा सरकारले बसपार्क बनाउन पाएको छैन । अर्थात राजनीतिक नेतृत्वले चाहेर पनि भोटको राजनीति हावी हुदाँ बसपार्क बन्न सकेको छैन । अधिग्रहण भएको २०७ रोपनी जग्गामध्ये आधाभन्दा बढीमा सुकुमबासी भरिएका छन् । करिब ४ सय परिवार यहाँ बसोबास गर्ने गरेको तथ्याङ्क पोखरा महानगरपालिकासँग छ ।

काठमाडौँका सुकुमबासी बस्ती धमाधम भत्काइएपछि पोखरा बसपार्क फेरि चर्चामा आएको हो । ५० वर्षअघि मुआब्जा दिएरै अधिग्रहण गरिएको थियो । सुकुमबासी बस्तीमा स्थानीय सरकारले धारा, बिजुली र बाटोको लागि अनुदान र सिफारिससमेत दिएको छ । बसपार्क निर्माणका लागि पटक–पटक अध्ययन नभएको होइन, तर प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन ।
२०३२ सालमा पोखराको गुरु योजना बनाएको बेलामै पृथ्वीचोक बसपार्कको परिकल्पना गरिएको थियो । पोखरा नगर विकास समितिको अगुवाइमा क्षेत्रीय बसपार्क बनाउन १८७ रोपनी जग्गा अधिग्रहण गरिएको हो ।
ती जग्गाको मुआब्जा २०३५ सालमै जग्गाधनीहरूलाई वितरण गरिएको थियो । लामो समयसम्म बसपार्क निर्माण नभएपछि उक्त जग्गामा बिस्तारै सुकुमबासी भरिन थाले । महानगरको अध्ययन प्रतिवेदनले बसपार्कका लागि अधिग्रहण भएको जग्गामा करिब ४ सयको हाराहारीमा साना–ठुला घर र व्यावसायिक संरचना रहेको निष्कर्ष निकालेको छ ।
१४८ रोपनी भएको जग्गा अहिले २६ रोपनी मात्रै रहेको छ । पोखरा महानगरपालिकाले एसियाली विकास बैंकको सहयोगमा ५ अर्ब रुपैयाँमा बसपार्क निर्माण गर्नका लागि डिपिआरसमेत निर्माण गरेको छ । नयाँ सरकार बनेको एक महिनामा नै काठमाडौैमा सुकुम्वासी बस्ति खाली गर्न लागे पछि त्यसको असर पोखरामा पनि परेको छ ।
पोखरामा सरकारी लालपुर्जाको जग्गा समेत अतिक्रणमा परेका छन् । उनीहरु राजनीतिक दलको छायाँमा हुकैदै बर्षौदेखी बस्दै आए पछि अब छाड्नुपर्छ भन्ने मनस्थितिमा पुगेका छन् ।
राष्ट्रिय भूमि आयोग कास्कीको तथ्याङ्क अनुसार कास्कीमा करिब २५ हजार सुकुमबासी छन् । उक्त संख्याका घरधुरीले लालपुर्जाका लागि निवेदन दिएका छन् । कास्की क्षेत्र नम्बर १ मा मात्रै ९ हजार ५४५ परिवारको निवेदन आयोगमा परेको छ । यस्तै, क्षेत्र नम्बर २ मा ५ हजार ६१४ परिवार र क्षेत्र नम्बर ३ मा ५ हजार ४१३ परिवार सुकुमबासी र भूमिहीन रहेको तथ्याङ्क छ । त्यसबाहेक करिब ५ हजार परिवारले निवेदन दिन बाँकी रहेको अनुमान गरिएको छ ।
भूमिहीन सुकुमबासीको सबैभन्दा ठुलो बस्ती पोखरा–३२ को खुदीखोलामा छ । त्यहाँ ७ सय परिवार बसोबास गर्छन् । पोखरा–२९ को भण्डारढिकमा करिब ३ सय, पोखरा–१७ को हनुमान टोलमा करिब २५०, पोखरा–१ को शान्ति टोलमा करिब २२० परिवार, पोखरा–१५ को शिवशक्ति टोलमा करिब २०७ परिवार छन् ।
पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउनका लागि ३५ दिनको सूचना जारी गरेको छ । बैशाख ३ गते कार्यपालिकाको बैठक बसी महानगरपालिकाले सूचना जारी गरेको हो । त्यस पछि सुकुम्वावसी वस्तीका वासिन्दा जुर्मुराएका छन् ।
महानगरको सूचना र काठमाडौंको राप अहिले देशभर फैलिरहँदा कास्कीमा शनिबार भूमिहीन, भूमिहीन दलित, भूमिहीन सुकुमबासीहरूले कास्कीमा संघर्ष समिति गठन गरेका छन् ।
उनीहरूले प्रेम गुरुङको नेतृत्वमा ‘भूमिहीन दलित, भूमिहीन सुकुमबासी, तथा अव्यवस्थित बसोबास सरोकार संघर्ष समिति’ गठन गरेका हुन् ।



