शुभ नारायण कामती
सिरहा । १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सिरहा जिल्लाका विभिन्न औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमिकहरूले “संसारका मजदुर एक होऔं, श्रमिकको सम्मान राष्ट्रको पहिचान, ट्रेड युनियनको रक्षा—लोकतन्त्रको सुरक्षा” भन्ने मूल नाराका साथ विविध कार्यक्रम आयोजना गरी दिवस भव्य रूपमा मनाएका छन् ।
सिरहास्थित शौर्या सिमेन्ट, मारुती सिमेन्ट लिमिटेड तथा शारदा डिस्टिलरी प्रा.लि.मा कार्यरत श्रमिकहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा श्रमिक ऐक्यबद्धता, श्रम अधिकार संरक्षण र सामाजिक सुरक्षा सुनिश्चितताको मागलाई प्रमुख रूपमा उठाइएको थियो ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा मारुती सिमेन्ट लिमिटेडमा कार्यरत स्वर्गीय श्रमिक जिलेबिया चौधरीको परिवारलाई श्रमिकहरूबाट स्वेच्छिक रूपमा संकलित ८७ हजार ३ सय ४० रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । उक्त सहयोग मृतकका श्रीमान् र छोरालाई प्रदान गर्दै श्रमिक समुदायले सहकार्य, सद्भाव र मानवीय एकताको उदाहरण प्रस्तुत गरेका छन् ।
कार्यक्रममा सहभागी श्रमिक प्रतिनिधिहरूले श्रम ऐन २०७४ तथा सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन अझै हुन नसकेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् । उनीहरूले सम्बन्धित निकाय तथा अखिल नेपाल ट्रेड युनियन महासंघलाई श्रमिक हक–अधिकार सुनिश्चित गर्न ठोस पहल गर्न आग्रह गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवले श्रमिकहरूको जायज माग सम्बोधन गर्न स्थानीय तह प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूमा सहकार्य र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला अध्यक्ष रामपुकार कामतीले श्रमिक वर्गका कानुनी अधिकार सुनिश्चित गर्न आफूहरू सधैं अग्रपंक्तिमा रहने बताए । उनले विगतमा विभिन्न क्षेत्रमा भएका श्रम शोषणविरुद्ध निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै आवश्यक परे अधिकार प्राप्तिका लागि संघर्ष अझ सशक्त बनाइने धारणा व्यक्त गरे ।
अखिल नेपाल ट्रेड युनियन महासंघको पहल तथा इकाई समितिको आयोजनामा सम्पन्न कार्यक्रममा श्रमिकहरूको उपस्थिति उल्लेखनीय रहेको थियो । कार्यक्रममा वक्ताहरूले श्रमिकहरूको योगदान राष्ट्र निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको धारणा राखे ।
सिरहामा मनाइएको यस वर्षको मजदुर दिवस केवल औपचारिकता नभई श्रमिक ऐक्यबद्धता, सामाजिक उत्तरदायित्व र अधिकार सुनिश्चितताको स्पष्ट सन्देश दिने महत्वपूर्ण अवसरका रूपमा स्थापित भएको छ । श्रमिकहरूले उठाएका मागहरू व्यवहारमा कार्यान्वयन हुन सकेमा मात्र “श्रमिकको सम्मान—राष्ट्रको पहिचान” भन्ने नाराले वास्तविक अर्थ पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय