काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले सहज जित निकालेको छ।
सारजाहमा मंगलबार राति सम्पन्न भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो।
राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो। मुम्बईको जितमा इशान किशनले अविजित ५० रन बनाए भने कप्तान रोहित शर्माले २२ रन जोडे।
मुम्बईका लागि सूर्यकुमार यादवले १३ रन बनाउँदा हार्दिक पाण्डेयले अविजित ५ रन बनाए।
राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले १/१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रनमात्र बनाएको थियो।
राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन बनाए भने डेभिड मिलरले १५ रन जोडे। त्यसैगरी, यासभी जैसवाल र राहुल टेवाटियाले समान १२/१२ रन बनाउँदा राजस्थानका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
मुम्बईका नाथन कल्टर निलले ४ विकेट लिए। जेम्स निशमले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए।
जितसँगै १३ खेलबाट १२ अंक जोडेको मुम्बईको प्ले अफ सम्भावना कायमै छ । मुम्बई अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
राजस्थान १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।