काठमाडौं । बंगलादेशले दुई खेल अगावै अष्ट्रेलियाविरुद्धको टि–ट्वान्टी सिरिज जितेको छ । शुक्रबार भएको तेस्रो खेलमा अष्ट्रेलियालाई १० रनले हराउँदै बंगलादेशले दुई खेल अगावै सिरिज ३–० ले जितेको हो ।
बंगलादेशले पहिलोपटक अष्ट्रेलियाविरुद्धको सिरिज जितेको हो । यसअघि बंगलादेशले अष्ट्रेलियामाथि कुनै पनि सिरिजमा जित निकाल्न सकेको थिएन् ।
ढाकामा बंगलादेशले दिएको १२७ रनको लक्ष्य अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर मात्र ११७ रन बनायो । अष्ट्रेलियाका लागि मिचेल मार्सले ५१ रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै वेन वेन एमसीडेर्माेटले ३५ रन बनाउँदा आलेक्स केरीले २० रन जोडे ।
बलिङतर्फ बंगलादेशका लागि सोरिफुल स्लामले दुई विकेट लिए । त्यस्तै नासुम अहमेद र साकिब अल हसनले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनायो । बंगलादेशका लागि कप्तान मोहम्दउल्लाहले ५२ रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै साकिव अल हसनले २६ रन बनाउँदा आफिफ हुसेनले १९ रन जोडे । बलिङतर्फ अष्ट्रेलियाका लागि नाथन एलिसले कीर्तिमान बनाएका छन् । उनी टी–ट्वान्टी अन्तर्राष्ट्रियको डेब्यु खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडीको बनेका छन् ।
उनले अष्ट्रेलियाका लागि खेलेको पहिलो टी–ट्वान्टीमा १९ ओभरको अन्तिम तीन बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका हुन् । त्यस्तै जोस हेजलउड र आदम जाम्पाले समान दुई–दुई विकेट लिए ।
बंगलादेशले अष्ट्रेलियाविरुद्ध पहिलोपटक टि–ट्वान्टी सिरिज जितेको हो ।