सिरहा । सिरहा नगरपालिका नगरस्तरीय फुटबल प्रतियोगिता २०८२ को उद्घाटन खेलमा वडा नम्बर ७ ले वडा नम्बर १७ लाई ठूलो गोल अन्तरले पराजित गरेको छ ।
सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदान भएको उद्घाटन खेलमा वडा नम्बर ७ का दिपेश पासमानले ह्याट्रिक गोल गरेका थिए । पासमानको ह्याट्रिक गोलसँगै वडा नम्बर ७ ले वडा नम्बर १७ लाई ६–० गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको दोस्रो मिनेटमा वडा नम्बर ७ का सुमित मेस्तरले पहिलो गोल गरेका थिए ।

खेलको १०औं मिनेटमा दिपेश पासमानले गोल गर्दै अग्रता २–० बनाएको थियो । त्यसको तीन मिनेटपछि खेलको १३औं मिनेटमा राजा मेस्तरले गोल गरेका थिए । राजाको गोलसँगै वडा नम्बर ७ ले तीन गोलको अग्रता कायम गरेको थियो । दिपेशले खेलको ३७औं र ५९औं मिनेटमा थप गोल गर्दै ह्याट्रिक गोल पूरा गरेका थिए । यस्तै राजा मेस्तरले १३औं र ४३ मिनेटमा गरी महत्वपूर्ण दुई गोल गरेका थिए । दोस्रो खेल विहिवार (आज) वडा नम्बर ४ र १० वीच हुने अध्यक्ष सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् ।
यस प्रतियोगितामा सिरहा नगरपालिका क्षेत्रका २२ मध्ये १३ वटा वडाले मात्र सहभागिता जनाएको आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । प्रतियोगितामा सहभागी जनाउन २२ वटै वडालाई पत्राचार र सूचना सार्वजनिक गरेपनि यस वर्षको सिजनमा १३ वटा वडाले मात्र सहभागिता जनाएको अध्यक्ष यादवले बताएका छन् । गत वर्षको सिजनमा २२ मध्ये १७ वटा वडाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
विजेतालाई ६० हजार र उपविजेतालाई ३० हजार
यस वर्षको नगरस्तरीय फुटबल प्रतियोगिताको विजेता टोलीलाई नगद ६० हजार रुपैयाँ सहित ट्रफि, मेडल प्रदान गर्ने अध्यक्ष यादवले बताएका छन् । यस्तै उपविजेता टोलीलाई नगद ३० हजार, ट्रफी र मेडल प्रदान गरिनेछ । फागुन ६ गतेदेखि सुरु भएको प्रतियोगिताको फाईनल खेल फागुन १५ गते आयोजना गर्ने तालिका कल्वले सार्वजनिक गरेको छ ।
प्रतियोगितामा भाग नलिने वडाहरु
नगरस्तरी फुटबल प्रतियोगिताको आयोजना स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने भएपनि वडाहरुले समन्वय नगर्दा यस वर्ष ९ वटा वडाले सहभागिता जनाएका छैनन् । वडा नम्बबर १, २, ३, ६, १३, १५, १६, १९ र २१ ले प्रतियोगितामा सहभागी भएको छैन् । गत वर्षको सिजनमा वडा नम्बर २, ५, ६, १३, १६ र २१ ले सहभागिता जनाएका थिएन । दुवै सिजनमा वडा नम्बर २, ६, १३, १६ र २१ ले सहभागिता जनाएको छैन् ।



