काठमाडौं ।  एसिया कप क्रिकेट प्रतियोगिताको संघारमा पाकिस्तानी टोलीले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानसँग नमिठो हार भोगेको छ । पाकिस्तान एसिया कपको पूर्वविजेता पाकिस्तानले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा निकै निराशाजन प्रदर्शन गर्दै आएको छ ।  पाकिस्तानले हालसम्म दुईपटक एसिया कपको उपाधि चुमिसकेको छ ।

एसिया कपको तयारीका क्रममा हाल पाकिस्तानी टोलीले अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) सँग त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको छ । सोही शृंखलाको आफ्नो पछिल्लो खेलमा पाकिस्तानी टोलीले अफगानिस्तानसँग नमिठो हार भोगेको हो । उक्त खेलमा अफगानिस्तानले पाकिस्तानलाई १८ रनले पराजित गरेको हो ।टस जितेर ब्याटिङको निर्णय लिएको अफगानिस्तानले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ६९ रन बनाएको थियो । पाकिस्तानले भने नौ विकेट गुमाएर एक सय ५१ रनमात्र बनाउन सक्यो ।

अफगानिस्तानका लागि ओपनर सदिकुल्लाह अटलले ६४ र अनुभवी ब्याट्सम्यान इब्राहिम जदरानले ६५ रन बनाए । अफगानिस्तानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानी टोलीका बलर फाहिम असरफले चार विकेट लिए । मध्यम विजयलक्ष्य पछ्याए पनि पाकिस्तानी टोलीका कुनै ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । तल्लो क्रमका ब्याट्सम्यान ह्यारिस रउफले सर्वाधिक अविजित ३४ रन बनाए । अफगानिस्तानका बलर फजालहक फारुकी, रासिद खान, मोहम्मद नाबी र नुरु अहमदले दुई–दुई विकेट लिए ।

तीन खेल खेलेको पाकिस्तान चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । समान खेल खेलेको अफगानिस्तान पनि चार अंकसहित दोस्रो स्थानमा छ । दुई खेल खेलेको यूएई भने दुवै खेलमा पराजित भएको छ ।एसिया कपअघि भोगेको यो हारले पाकिस्तानी टोलीलाई नराम्रो झट्का लागेको छ । अफगानिस्तानले भने आफ्नो मनोबल उच्च बनाएको छ । एसिया कपको १७औँ संस्करण सेप्टेम्बर ९ देखि २८ तारिखसम्म यूएईमै आयोजना हुँदैछ ।यी तीनवटै टोली एसिया कपमा सहभागी छन् । पाकिस्तान र यूएई एउटै समूहमा परेका छन् । समूह ‘ए’ मा पाकिस्तान, यूएई, ओमान र भारत छन् । समूह ‘बी’ मा भने अफगानिस्तान, बंगलादेश, हङ्कङ र श्रीलंका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय