
बेलबारी । काठमाडौं लिग विजेता चित्लाङ फुटबल क्लबलाई ५-१ गोलको फराकिलो अन्तरले हराउँदै सलहेस फुटबल क्लब सिरहा मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सलहेश फुटबल क्लबको शनिवार हुने फाइनलमा झापा-११ फुटबल क्लबसँग भेट पक्का भएको छ ।

बेलबारी ११ को लक्ष्मी खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा अग्रता भने चित्लाङ फुटबल क्लबले चौथो मिनेटमा गरेको थियो । चित्लाङका समन धिमालले सलहेशका चार खेलाडी बिट गर्दै निकालेको पासलाई हेनरीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, चित्लाङको अग्रता मध्यान्तरसम्म पनि टिक्न सकेन ।
सलहेस क्लबको जितका लागि अजयी मार्टिनले ह्याट्रिक पुरा गरे । थप दुई गोल आदित्य शाक्यको नाममा रह्यो । अजयी मार्टिन खेलको ६८ औं, ८६ औं र दोस्रो हाफ पछिको अतिरिक्त समयमा गोल गरेर बेलबारी गोल्डकपमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बने । आदित्य शाक्यले टिमका लागि पहिलो हाफको अतिरिक्त समयमा र ७८ औं मिनेटमा गोल गरे ।
मध्यान्तर अघिको अतिरिक्त समयमा चित्लाङविरुद्ध आदित्य शाक्यले १ गोल गरेपछि सलहेश खेल फर्किएको थियो ।
मध्यान्तरपछि एकपक्षीय खेल खेलेको सलहेसले चित्लाङलाई दबाबमा राखेको थियो । शुक्रबार दुबै टिमले चार/चार जना विदेशी खेलाडी मैदानमा उतारेका थिए । आजको खेलमा ह्याट्रिक गर्ने सलहेस फुटबल क्लबका अजयी मार्टिन म्यान अफ द म्याच घोषित भए । उनलाई कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन्द्रसिंह हाङगामले नगद ५ हजारसहित म्यान अफ द म्याचको ट्रफि प्रदान गरे । शनिबार हुने फाइनल खेलमा सलहेस सिरहाले झापा ११ फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पहिलो पटक १० वटा टिमले प्रतिस्पर्धा गरेको बेलबारी गोल्डकपका विजेताले अढाई किलो चाँदीमा २ तोला सुन जडित ट्रफिसहित नगद आठ लाख रुपियाँ र उपविजेताले चार लाख नगद र ट्रफि प्राप्त गर्नेछन् ।