रेशम चौधरी

टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेका रेशम चौधरीले पार्टीबाट राजीनामा दिने घोषणा गरेका थिए तर आज अचानक उनको राजीनामा रोकिएको छ । यद्यपि, उनी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आवद्ध छन् कि जनता समाजवादी पार्टीमा भन्ने स्पष्ट हुन सकेको छैन । तत्कालीन राजपा नेपालबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी पार्टी एकीकरणसँगै जसपामा सामेल भएका थिए ।

जसपा विभाजनका क्रममा उनले कुनै पनि पक्षलाई रोजेका थिएनन् । त्यसैले पनि उनलाई जसपा नेपाल र लोसपा नेपाल दुवै दलले आफ्नो पार्टीमा रहेको दाबी गरिरहेका छन् । रेशम चौधरीले भने आफू कुन पार्टीमा रहेको भन्ने अझै स्पष्ट पारेका छैनन् ।

असोज २१ गते राजीनामा दिने कुरा रोकिए पनि एक अनलाइनमा एउटा लेख प्रकाशित गरी उनले आफू पार्टीमा नरहेको संकेत गरेका छन् । स्रोतका अनुसार उनले आफ्नो जन्मदिन पारेर पार्टीबाट राजीनामा दिने आफ्ना निकटस्थसँग बताएपछि लोसपाका नेताहरु त्यसलाई रोक्न सक्रिय भएका थिए । लोसपाका नेताहरु विभिन्न स्रोत प्रयोग गरेर रेशम चौधरीलाई राजीनामा दिनबाट रोक्न सफल भएको बताइन्छ ।

तर रेशम चौधरीले राजीनामा दिनका लागि तयार पारेको पत्रलाई लेखको रुपमा प्रकाशित गरेर लोसपा वा जसपामा नरहेको कुरा स्पष्ट पारेका छन् । उनले सो लेखमा कुनै अध्यक्ष वा पार्टीलाई सम्बोधन नगरे पनि आफू सो पार्टीमा नरहेको स्पष्ट गरेका छन् ।

उनले आफ्नो लेखमा लेखेका छन्, ‘बेला भइसकेको त छैन तर विकल्प भएन । यहाँसम्म राजनीतिक यात्रामा साथ दिनु हुनेलाई धन्यवाद । कसैसँग केही गुनासो छैन । धेरै कुरा सिकाउनु भो धन्यवाद । गोता लगाएर मोती भेटाउन नसके पनि राजनीतिक गोताखोर जरुर भइयो । राजनीति यस्तै रहेछ, सत्य असत्य, असत्य सत्य । इमानीभन्दा बेइमानीहरूले अंक बढी प्राप्त गर्दा रहेछन् । कार्यकर्ता बेचेर पद प्रतिष्ठा आर्जन गर्ने प्रचलन रहेछ । झुट, इमान, कार्यकर्ता बेच्ने कलामा निपुण भएपछि बल्ल राष्ट्रवादी नेता भइँदो रहेछ ।’

उनले अगाडि लेखेका छन्, ‘अन्ततः विकल्प नदेखेपछि बाटो पहिल्याउने निर्णय गरेँ । कसैसँग केही गुनासो छैन । राजनीतिक यात्रामा फेरि कुनै न कुनै दिन जरुर सहयात्री भइएला । त्यसैले आङको छारो उठाएर आफ्नै मयल देखाइ फोहोरी कहलिनु छैन मलाई ।’

थारु नेताहरु मधेस केन्द्रित दल धमाधम छाड्दै छन् । यसअघि राजकुमार लेखीले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल छाडेर एमालेमा प्रवेश गरिसकेका छन् भने पूर्व राजपामा आवद्ध रहेर पछि निश्कृय भएका अर्का नेता लक्ष्मण थारुले पनि सो पार्टी छाडिसकेका छन् । उनी भानुराम थारुको पार्टी नेपाल लोकतान्त्रिक पार्टीमा प्रवेश गरिसकेका छन् । रेशम चौधरीले पनि जसपा/लोसपा छाडेपछि नयाँ पार्टी सञ्चालन गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!