नेकपा माओवादीप्रचण्ड
फाइल फाेटाे

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । अध्यक्ष दाहालले एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षड्यन्त्र देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरूले गरिरहेको बताउनुभएको हो ।

सुरेश वाग्ले र भीमसेन पोखरेलको २२ औँ स्मृति दिवसको अवसर पारेर बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने अडान पनि दोहोर्‍याउनुभयाे ।

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनलाई बचाएर राष्ट्रलाई क्षति नहुने गरी एमसीसी सम्झौता अघि बढाउन आफूले चाहेको पनि स्पष्ट पार्नुभयो । तर अर्को वर्ग पूरै तागतका साथ यो गठबन्धनलाई कसरी तोड्ने भनेर लागिपरेको उहाँको दाबी छ ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘यो गठबन्धनलाई तोड्ने षड्यन्त्र पनि भइराखेको छ, देशभित्र र बाहिरबाट । यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन, हामीले संविधानको रक्षा, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा र राष्ट्रको रक्षाको निम्ति गठबन्धन भनेका छौँ । यसलाई विभाजन के गरी गर्ने ? एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि ? भनेर एक थरी लागिरहेका छन् । हामी चाँहि यथास्थितिमा एमसीसी हुन सक्दैन भनी राखेका छाैँ । हामी सकेसम्म गठबन्धनलाई बचाएर यसको पनि समाधान सकारात्मक ढङ्गले होस् भन्ने चाहेका छौँ । तर अर्को वर्ग चुप लागेर बसेको छैन । अर्को वर्गमा पनि पूरै तागतका साथ यो गठबन्धन के गरी तोड्ने ? प्रतिक्रान्तिकारी के गरी निरन्तर अघि बढाउने ? माओवादीहरूलाई के गरी घेरा हालेर सिध्याउने भन्ने प्रयास पनि भइराखेको छ देशभित्र र बाहिर पनि ।’

उहाँले लोकतन्त्रको रक्षा गर्न, संविधानको रक्षा गर्न, गणतन्त्रको रक्षा गर्न र राष्ट्रको रक्षा गर्नका लागि सत्तारुढ गठबन्धन बनाउनुपरेको पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले नेकपा एमाले पतन हुने दिशामा अघि बढिरहेको टिप्पणी पनि गर्नुभयो । मार्क्सवादी भन्न नहुने, राम, सीता र लक्ष्मणको मूर्ति बोकेर हिँड्ने अवस्था आएकाले एमाले पतनको ढिलमा पुगेको उहाँको तर्क थियो । अध्यक्ष दाहालले एमाले नेतृत्वले सूर्य चिह्न र मदन भण्डारीको दुरुपयोग गरेर पद, पैसा र प्रतिष्ठा आर्जन गर्न जानेको आरोपसमेत लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!