सिरहा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेशनल भोलेन्टियर फोर्स तथा राष्ट्रिय युवा संघको नगरस्तरीय भेला सिरहामा सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै एमाले सिरहा जिल्ला उपाध्यक्ष एवं सिरहा नगरपालिकाका मेयर डा. नवीन कुमार यादवले जनताको मन, भावना र सोचमा देशप्रतिको साझा जिम्मेवारी गहिरोसँग स्थापित भइसकेको बताएका छन् । उनले युवापुस्तालाई राष्ट्रप्रति उत्तरदायी र सचेत बन्न आह्वान गरे ।

उनले भने, “जुनसुकै पार्टी जिते पनि देश हाम्रो साझा हो । यही कारण हामी सबैको ध्यान जिम्मेवारीतर्फ आकर्षित गर्न चाहन्छौँ । सूर्य चिन्हसहित एमाले देशभर जनविश्वासका साथ अघि बढिरहेको छ ।”

डा. यादवले एमाले पार्टी देशकै नम्बर एक शक्तिका रूपमा उदाउँदै गएको दाबी गर्दै सामाजिक क्षेत्रमा व्यापक प्रचार–प्रसार भइरहेको बताए । उनले देशद्रोह, राष्ट्रहित, जनविरोधी गतिविधि तथा हिंसात्मक प्रवृत्तिविरुद्ध स्पष्ट धारणा आवश्यक रहेको उल्लेख गरे ।
युवालाई सम्बोधन गर्दै उनले राजनीतिक चेतना, जिम्मेवारी र देशप्रतिको समर्पण बढाउन आग्रह गरे । “खाना, कपडा, पढाइ र सुविधाको व्यवस्था बाबुआमाले गरेका छन् । तर आज हामी किन अमेरिका, भारत वा विदेशी प्रभावतर्फ आकर्षित भइरहेका छौँ ? यो सोच्ने बेला आएको छ,” उनले भने ।
उनले विगतका अभाव, गरिबी र संघर्षका दिनहरू स्मरण गर्न आग्रह गर्दै जनप्रतिनिधि, नेता र कार्यकर्तासँग प्रश्न गर्ने संस्कार विकास गर्नुपर्ने धारणा राखे । “अँध्यारोबाट बाहिर निस्केर सूर्यको उज्यालोमा सत्य पहिचान गर्नुपर्छ,” उनले भने ।

डा. यादवले एमाले कहिल्यै कमजोर नभएको दाबी गर्दै निर्वाचनमा लोभ–लालचबाट टाढा रहन युवालाई आग्रह गरे । “हीरा, पैसा, सुन, चाँदी वा पाँच सय रुपैयाँ वा दारुका लागि आफ्नो अमूल्य मत बेच्ने कि नबेच्ने—यो निर्णय युवाले आफैँ गर्नुपर्छ,” उनले भने ।

भेलामा सिरहा क्षेत्र नं. ३ का उम्मेदवार लिलानाथ श्रेष्ठ लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा संगठन सुदृढीकरण, युवा परिचालन तथा आगामी रणनीतिबारे छलफल गरिएको थियो ।



