सिरहा । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अप्रत्याशित रूपमा गत फागुन २१ गते नेपाली कांग्रेससँग गठबन्धन तोड्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन सरकार बनाएका छन् ।

माओवादी केन्द्रबाट यसअघि मन्त्री भएका सुदन किराती हटेका छन् भने उनको ठाउँमा हितबहादुर तामाङलाई ल्याइएको छ । साथै अर्थमन्त्रीमा वर्षमान पुन थपिएका छन् । अन्य मन्त्रीहरू यथावत् रहेका छन् भने केहीको मन्त्रालय भने फेरिएको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीहरू थपिएका छन् । सोमबार ४ मन्त्री नियुक्त गरेका उनले बुधबार १६ मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा गएर शपथ समेत खाइसकेका छन् ।
एमाले रास्वपासँगको गठबन्धनमा एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री, पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र राजेन्द्र राईले खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यस्तै माओवादी केन्द्रबाट नारायण काजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकास मन्त्री भएका छन् । प्रस्तुत छ सरकारमा नवनियुक्त मन्त्रीहरूको संक्षिप्त बायोडाटा :

नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्रमन्त्री

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ पाँचौँ पटक मन्त्री बनेका छन् । यसअघि उनी दुई पटक गृहमन्त्री, एकपटक भौतिक पूर्वाधार तथा यातायात र एकपटक पर्यटन मन्त्री बनेका थिए ।

गोरखाको जौबारीमा २०१६ सालमा जन्मेका श्रेष्ठले एम.ए.सम्मको अध्ययन गरेका छन् । मन्त्री श्रेष्ठ २०४३ सालमा निर्मल लामा नेतृत्वको नेकपा चौथो महाधिवेशनको केन्द्रीय सदस्य हुँदै कम्युनिस्ट राजनीतिमा सक्रिय भएका थिए ।

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री

नेकपा एमालेका प्रभावशाली नेता रघुवीर महासेठ  यसअघि उनी उपप्रधान र परराष्ट्र मन्त्री, भौतिक पूर्वाधार मन्त्री, सिंचाई मन्त्रीको भूमिकामा रहेका थिए । २०१८ सालमा धनुषामा जन्मिएका महासेठले सिभिल इन्जिनियरिङमा स्नातक तह सम्मको अध्ययन गरेका छन् ।  २०३३ सालमा नेकपा मालेको सदस्यता लिएर उनले राजनीति थालेका थिए । हालसम्म उनी धनुषा जिल्लाबाट ३ पटक प्रतिनिधि सभामा निर्वाचित भइसकेका छन् ।

रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री 

पत्रकारिताबाट राजनीतिमा लागेका गृहमन्त्री लामिछानेसँग झन्डै डेढ वर्षको राजनीतिक अनुभव छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनी अघिल्लो वर्ष ४२ दिन गृहमन्त्री बनेका थिए । २०३२ साल भदौ २८ गते भक्तपुरको नगरकोटमा जन्मिएका उनले पत्रकारितामा आई.ए. तहसम्मको अध्ययन गरेका छन् ।

२०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा उनी चितवन २ बाट निर्वाचित भएका थिए । पछि नागरिकता विवादमा उनले सांसद र मन्त्री पद गुमाएका थिए । गत वैशाखमा भएको उपनिर्वाचनबाट पुन उनी विजयी भएका थिए ।

वर्षमान पुन, अर्थमन्त्री 

रोल्पाको जङ्कोट गाविसमा २०२८ सालमा जन्मिएका अर्थमन्त्री वर्षमान पुनले स्नातक तह सम्मको अध्ययन गरेका छन् । यसअघि उनी २०६४ सालमा संविधान सभा सदस्य, २०६७ सालमा झलनाथ खनालको नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री भएका थिए । त्यसपछि २०६८ सालमा डा.बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका थिए । यस्तै २०७४ सालमा केपी ओली नेतृत्वको सरकारमा ऊर्जा, जल तथा सिँचाइ मन्त्री भएका थिए । हाल उनी माओवादी केन्द्रको उपमहासचिव पदमा रहेका छन् । मन्त्री पुनले अमेरिका, रुस, चीन लगायत २८ मुलुकहरूको भ्रमण गरेका छन् ।

भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री 

नेकपा एकीकृत समाजवादीका नेता एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी दोस्रो पटक मन्त्री बनेका हुन । यसअघि उनी २०६८ सालमा वन तथा भू–संरक्षण मन्त्री भएका थिए । २०३६ सालबाट विद्यार्थी राजनीतिक हुँदै अघि बढेका जोशी २०६४ सालमा संविधान सभा सदस्य भएका थिए । गत निर्वाचनमा उनी बझाङ १ बाट निर्वाचित भएका थिए । हाल उनी एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रहेका छन् । २०१६ सालमा जन्मिएका जोशीले स्नातकसम्मको अध्ययन गरेका छन् ।

ज्वाला कुमारी साह, कृषि तथा पशुपक्षी मन्त्री

नेकपा एमालेकी सांसद समेत रहेकी ज्वालाकुमारी साह यसअघि पनि पटक पटक सांसद तथा मन्त्री भएकी थिइन । २०५४ सालमा माओवादी केन्द्रबाट राजनीति सुरु गरेकी उनी २०६४ सालमा संविधानसभा सदस्य, २०६७ सालमा भूमिसुधार राज्यमन्त्री, पर्यटन राज्यमन्त्री, २०७७ साल र २०७९ सालमा गरी २ पटक कृषि तथा पशुपक्षी विकास मन्त्री भएकी थिइन । उनी २०३८ सालमा बारा जितपुर सिमरामा जन्मिएकी थिइन । उनले बि.एड तहको अध्ययन गरेकी छिन् ।

डोल प्रसाद अर्याल, श्रम तथा रोजगार मन्त्री

धादिङ जिल्लाको ज्वालामुखी नगरपालिका–२ स्थायी घर भएका डोलप्रसाद अर्यालको जन्म २०३१ साल भदौ ६ गते भएको थियो । उनको राजनीतिक अनुभव भने झन्डै १ वर्षको रहेको छ । २०७९ सालबाट राजनीति सुरु गरेका उनले पर्यटन र म्यानपावर क्षेत्रमा २० वर्षको अनुभव सम्हालेका छन् । अर्यालले जापान, अमेरिका, चीन, भारत, कोरिया, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशको भ्रमण गरेका छन् । यसअघि उनी २२ दिन मन्त्री भएका थिए ।

दामोदर भण्डारी, उद्योगमन्त्री 

एमालेबाट मन्त्री भएका दामोदर भण्डारी २०३९ साल कार्तिक २० बैतडीको पाटनमा जन्मिएका थिए । बि.ए. सम्मको अध्ययन गरेका भण्डारी यसअघि झन्डै २ महिना मन्त्री भएका थिए । उनले २०४६ सालदेखि एमालेको विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीति थालेका थिए । हाल उनी एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको भूमिकामा पनि रहेका छन् । उनी यसअघि पनि एकपटक उद्योगमन्त्री भएका थिए । भण्डारीले भारत, चीन, कोरिया, जर्मनीको भ्रमण गरेका छन् ।

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला मन्त्री

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री, एमाले प्रमुख सचेतक रहेका पदम गिरी अहिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । २०३३ सालमा पर्वत कुस्मामा जन्मिएका गिरीले एम.ए सम्मको अध्ययन गरेका छन् ।

उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचन र २०७९ सालको निर्वाचनमा पर्वतबाट निर्वाचित भएका थिए । उनले अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, फ्रान्स, कतार र भारतको भ्रमण गरेका छन् ।

सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री 

राष्ट्रिय स्वतन्त्र पार्टीको आदिवासी जनजाति कोटाबाट समानुपातिक सांसद बनेकी सुमना श्रेष्ठले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ याकुपामा २०४१ साल असोज १५ गते जन्मिएकी उनले पोल्याण्डका नागरिक पावल लुकास स्काविन्स्कीसँग बिहे गरेकी छिन् ।

श्रेष्ठले व्यवस्थापनमा स्नातकोत्तर सम्मको अध्ययन, अमेरिकाको ब्रायन मावर कलेज र ह्याभरफोर्ड कलेजबाट अर्थशास्त्र र गणितमा स्नातक,  एमआईटी स्लोन स्कूल अफ म्यानेजमेण्टबाट बिजनेस एडमिनिष्ट्रेशनमा स्नातकोत्तर सम्मको अध्ययन गरेकी छिन् । उनीसँग झन्डै १ वर्ष हाराहारीको राजनीतिक अनुभव रहेको छ ।

बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी मन्त्री

२०३३ सालदेखि विद्यार्थी राजनीतिमा लागेका नेकपा एमालेका नेता बलराम अधिकारी २०७० सालमा संविधान सभा सदस्यमा र २०७९ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । २०१७ सालमा कपिलवस्तुमा जन्मिएका अधिकारीले आई.ए तहको अध्ययन गरेका छन् । उनी पहिलोपटक मन्त्री पदमा नियुक्त भएका हुन । उनले विभिन्न ७ वटा देशको भ्रमण गरेका छन् ।

भगवती चौधरी, महिला, बालबालिका तथा समाजकल्याण मन्त्री

नेकपा एमालेकी नेतृ भगवती चौधरी २०२८ सालमा औरवनी ३, सुनसरीमा जन्मिएकी थिइन् । उनले मानविकी संकायबाट समाजशास्त्रमा स्नातकोत्तर र व्यवस्थापन सङ्कायमा स्नातक सम्मको अध्ययन गरेकी छिन् ।

२०६४ सालमा संविधानसभा सदस्य, २०६७ सालमा वन तथा भू संरक्षण राज्य मन्त्री भएकी थिइन भने गत वर्ष झन्डै २ महिना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी थिइन ।

राजेन्द्र कुमार राई, खानेपानी मन्त्री

नेकपा एमालेका नेता एवं खानेपानी मन्त्री राजेन्द्र कुमार राई २०२१ सालमा धनकुटामा जन्मिएका थिए ।

२०३५ सालबाट राजनीति सुरु गरेका उनी २०७४ सालको निर्वाचनमा धनकुटाबाट विजयी भएका थिए । यसअघि अघिल्लो वर्ष उनी झण्डै २ महिना भूमि व्यवस्था मन्त्री भएका थिए । उनले विभिन्न १४ वटा देशको भ्रमण गरेका छन् ।

रेखा शर्मा, सूचना तथा सञ्चार प्रविधि मन्त्री 

सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा यसअघि पनि कांग्रेस, माओवादीको गठबन्धन सरकारमा सोही मन्त्रालयको जिम्मेवारीमा रहेकी थिइन् ।  दाङको घोराहीमा २०२६ सालमा जन्मेकी शर्माले २०४३ सालदेखि राजनीतिक क्षेत्रमा लागेकी हुन ।

माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य शर्मा गत प्रतिनिधि सभा निर्वाचनमा  दाङ क्षेत्र नम्बर २ बाट विजयी भएकी थिइन ।

हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  

पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ दोस्रो पटक मन्त्री भएका हुन् । २०६६ सालमा झलनाथ खनाल प्रधानमन्त्री भएको उनी युवा तथा खेलकुद मन्त्री भएका थिए ।

नुवाकोटमा २०२० सालमा जन्मिएका तामाङ २०३६ सालमा अनेरास्ववियु छैटौँमा आबद्ध भएर राजनीतिमा लागेका थिए ।

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री 

नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ पहिलो पटक मन्त्री भएका हुन । २०३८ सालमा काठमाडौँमा जन्मिएका श्रेष्ठले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी तत्कालीन विवेकशील साझा पार्टीबाट बागमती प्रदेश सभामा समानुपातिक सांसद बनेका थिए । गत वर्ष प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं ८ बाट उनी निर्वाचित भएका थिए ।

धनबहादुर बुढा

हालसम्म ३ पटक सांसद र १ पटक राज्यमन्त्री भएका मन्त्री धनबहादुर बुढा गत प्रतिनिधि सभा निर्वाचनमा डोल्पाबाट निर्वाचित भएका हुन् । त्यसअघि उनी २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा प्रतिनिधि सभा सदस्य रहेका थिए । हाल नेकपा एकीकृत समाजवादीमा रहेका बुढा पर्यटन राज्यमन्त्री समेत बनेका थिए ।

२०३१ सालमा डोल्पामा जन्मिएका उनले आईएसम्मको अध्ययन गरेका छन् ।  उनले विभिन्न ७ वटा देशको भ्रमण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!