पर्सासिँचाइ अभाव
पर्साको ठोरीस्थित बााझो जग्गा ।

पर्सा — सिँचाइ अभाव र वन्जयन्तुले बाली नष्ट गर्दा ठोरी गाउँपालिका–१ सरस्वतीनगरको झन्डै ४० हेक्टर जग्गा बाँझो भएको छ । यही समस्याका कारण एक दशकयता यहाँका करिब १ सय घरधुरी बसाइँ सरेर अन्यत्र गइसकेका छन् । बाँझो छोडिएको खेतमा अहिले झाडी र बुट्यान उम्रेर जंगलजस्तै बनिसकेको छ ।

स्थानीय सुरज लामा एक दशकयता यहाँका स्थायी बासिन्दा बसाइँ सरेर चितवन, सिमरा, हेटौंडातिर जाने क्रम बढेपछि उनीहरूको जग्गा बाँझो रहन गएको बताउँछन् । ‘एकातिर सिँचाइ अभाव, त्यसमाथि दुःखजिलो गरी लगाएको अन्नबाली चितवन राष्ट्रिय निकुञ्जबाट आउने हात्ती, चित्तल, बँदेललगायत वन्यजन्तुले नष्ट पारेर आजित बनायो,’ उनले भने, ‘त्यतिमात्र नभई सडक, बिजुली बत्ति, स्वास्थ्य सेवा, खानेपानीजस्ता आधारभूत सेवा–सुविधासमेत नहुँदा धेरैले बसाइँ सर्ने निर्णय गरे ।’ बसाई सरेकामध्ये धेरै भारतीय सेना र ब्रिटिस सेनामा कार्यरत लाहुरेका परिवार थिए । त्यतिबेला यो बस्ती गुरुङ टोलको नामले प्रसिद्ध थियो ।

बसाइँ नसरेका स्थानीयलाई पनि यहाँ कृषि कर्म अत्यन्त दुःखजिलो भएकाले कतिपयले हार मानेरै आफ्नो खेत बाँझो छोडिदिएको अर्का स्थानीय नवराज फुयाँल बताउँछन् । ‘एक त आकासे खेतीको भर, त्यसमाथि उब्जिएको बालीनाली वन्यजन्तुले नष्ट पार्ने पीडा,’ उनले भने, ‘त्यही कृषिकर्म पनि अत्यन्त महँगो साबित हुँदै गयो, लगानीको प्रतिफलसमेत उठ्न सकेन, त्यसकारण पनि कृषिकर्म गर्नुभन्दा जग्गा बाँझो छोड्नु उपयुक्त देखेर कतिपय किसानले खेत जोत्नै छोडे ।’

पछिल्लो केही बर्षयता गोरु, राँगाबाट खेत जोत्ने चलन हराउँदै गरेको र ट्याक्टरबाट खेत जोत्न तुलनात्मक रूपमा महँगोपर्ने भएकाले कतिपयले खेत जोत्नै नसकेको फुयाँल बताउँछन् । यहाँ वर्षायाममा आकाशे पानीबाहेक २ वटा कुलो पनि सक्रिय हुन्छन् । तर हिउँदमा ती कुलो पनि निष्क्रिय हुने गरेको उनले बताए । ‘वर्षामा अमवा खोलाको सिरान/खोले दोभानबाट एउटा कुलो ल्याइन्छ । यसबाहेक देवीथान सिँचाइ योजनाबाट अर्को कुलो ल्याइन्छ,’ उनले भने, ‘तर हिउँदमा दुवै कुलो निष्क्रिय हुन्छन् । अनि किसानलाई सास्ती हुन्छ ।’ यसबाहेक सडक, स्वास्थ्य, खानेपानी आधारभूत सेवासुविधाको समेत अभाव हुँदा आजित भएर धेरै स्थानीयले बसाई सरेको उनले बताए ।

स्थानीय किसानलाई स्थायी रूपमा वर्षैभरि सिंचाइ सुविधा उपलब्ध गराउन डिप बोरिङ र स्यालो ट्युबवेल तत्कालका विकल्प रहे पनि ती दुवै अत्यन्त महँगो भएकाले किसानको क्षमता भन्दा बाहिरको कुरो भएको उनले बताए । २ वर्षयता हुलाकी सडक गाउँमा आएपछि बसाइ सरेर गएका केही स्थानीयहरू पशुपालन गर्न भनि फर्केका छन् । सिँचाइ समस्याको दीर्घकालीन समाधान भए पुर्ख्यौली थातथलो छोडेर गएका फेरि फर्कन सक्ने फुयाँल बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!