सिरहा । आन्तरिक विवादले प्रभावित बनेको सिरहा नगरपालिकामा आज (आइतबार) कार्यपालिका बैठक बस्दैछ । चालू आर्थिक वर्ष २०८२/०८३ को समीक्षा तथा बाँकी अवधिका योजना र प्राथमिकताबारे महत्वपूर्ण निर्णय लिन बिहान ११ बजे बैठक आह्वान गरिएको हो ।

नगरपालिकाका एक कार्यपालिका सदस्यका अनुसार बैठकमा बजेट कार्यान्वयनको हालसम्मको अवस्था, विकास निर्माण योजनाहरूको प्रगति तथा सेवा प्रवाहमा देखिएका समस्याहरूको समाधानबारे विस्तृत छलफल हुनेछ । आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा बाँकी कार्यक्रम समयमै सम्पन्न गर्ने रणनीति तय गर्नु बैठकको मुख्य उद्देश्य रहेको छ ।

यससँगै नगरपालिकाको आन्तरिक व्यवस्थापन सुधार, प्रशासनिक कार्यप्रणालीलाई प्रभावकारी बनाउने तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने सेवाहरूलाई सहज बनाउने विषय पनि एजेन्डामा समेटिएको छ । केही समयदेखि प्रभावित सेवा प्रवाहलाई पुनः नियमित बनाउने उपायबारे निर्णय हुने अपेक्षा गरिएको छ भने आवश्यक परे नयाँ कार्यक्रम थप्ने वा प्राथमिकता परिवर्तन गर्ने विषयमा समेत छलफल हुन सक्ने बताइएको छ ।
तर, बैठक बस्नुअघि नै नगरपालिकाको प्रशासनिक अवस्था भने जटिल बनेको छ । प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले असुरक्षा र कार्यसम्पादनमा अवरोध भएको जनाउँदै वैशाख १० गतेदेखि घरबिदामा बसेका छन् । कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख वविता कुमारी साहलाई सम्बोधन गर्दै उनले “विशेष परिस्थिति” का कारण कार्यालयमा काम गर्ने वातावरण नभएको उल्लेख गरेका छन् ।

उनका अनुसार केही जनप्रतिनिधिबाट अनावश्यक दबाब र धाकधम्की हुने गरेको छ, जसका कारण कर्मचारीहरू असुरक्षित महसुस गरिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित रहने अवधिमा वरिष्ठ कर्मचारीलाई निमित्त जिम्मेवारी दिई सेवा प्रवाहलाई निरन्तरता दिन आग्रह गरिएको छ ।
यस घटनाक्रमले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध थप तनावपूर्ण बनेको संकेत गरेको छ । यसअघि पनि आर्थिक प्रशासन तथा भुक्तानी प्रक्रियासम्बन्धी विवादले सेवा प्रभावित हुँदै आएको थियो ।

यसैबीच, नगरप्रमुख डा. नवीन कुमार यादव कुटपिट आरोपसम्बन्धी मुद्दामा ४० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनी जिल्ला अदालत सिरहामा उपस्थित भई धरौटी बुझाएपछि रिहा भएका हुन् । चैत २३ गते कार्यालय सहयोगीमाथि कुटपिट गरेको आरोपपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
घटनापछि सुरु भएको कर्मचारी आन्दोलन चैत ३० गते स्थगित भए पनि आन्तरिक विवाद अझै समाधान हुन सकेको छैन ।

स्थानीयवासी तथा सेवाग्राहीहरूले तत्काल विवाद समाधान गरी सेवा प्रवाहलाई नियमित बनाउन माग गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सिरहाको ध्यानाकर्षणसमेत गराइएको छ ।
आज बस्ने कार्यपालिका बैठकलाई सिरहा नगरपालिकाको प्रशासनिक स्थायित्व र आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । बैठकको अध्यक्षता नगरप्रमुख डा. नवीन कुमार यादवले गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय