काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको कुनै दल नहुने भन्दै राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको बताएका छन् ।
पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमअन्तर्गत शनिबार तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा सम्वर्द्धनवादी दर्शन बोकेको पार्टी रहेको दाबी गरे ।

राजा र राजसंस्था कुनै पार्टीको नहुने र राजसंस्थाको पनि कुनै पार्टी नहुने भन्दै अध्यक्ष लिङ्देनले राजसंस्था कुनै पार्टी, संगठन र विचारभन्दा माथि रहेको बताए । राप्रपालाई राजाको दल भनेर प्रचार गर्ने र विवादित तुल्याउनेहरु राजसंस्थाको पक्षपाती नभएको उनको भनाइ छ ।
गणतन्त्रको सरकार र यसभित्रको भूमिकामा जानुहुँदैन भनेर टिप्पणी गर्नेहरु प्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले सरकारका पदहरुमा नजाँदैमा पार्टी ठूलो हुने भए नेमकिपा र राष्ट्रिय जनमोर्चाजस्ता पार्टी कमजोर नभएर ठूलो हुनुपर्ने बताए ।



