अन्तर्राष्ट्रिय विमानस्थलपरदेशवैदेशिक राेजगार

काठमाडौं । बिहीबार बिहान पौने पाँच बजे । राम्ररी उज्यालो नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर चहलपहल बढिसकेको थियो । कोरोना संक्रमण नभएको रिपोर्टमा छाप हान्न यात्रुहरु विमानस्थलको एक नम्बर प्रवेश गेट अगाडि लाइन लागेका थिए ।

त्यही लाइनमा भेटिए खोटाङका मिलन रसाइली । रातो टीकाले निधार रंग्याएका उनको काँधमा दुईवटा खादा र माला थियो, तर अनुहार मलिन थियो । मिलन दशैं शुरु भएको घटस्थापनाको दिन रोजगारीका लागि साउदी अरब उड्दै थिए ।

ठूलो चाडपर्वको मुखैमा विमानस्थलसम्म पुर्‍याउन आएका श्रीमती र छोरी भक्कानिएपछि आफू सम्हालिन नसकेको मिलनले सुनाए । ‘छोरी र श्रीमतीलाई बिदाइ गर्दा मन सम्हाल्न सकिन, के–के भयो भयो,’ मिलनले आँशु पुछ्दै भने ।

सप्तरीको राजगढ गाउँपालिकाका ३८ वर्षीय महेन्द्रप्रसाद यादव पनि त्यही लाइनमा भेटिए । उनको दाहिने हातमा जेब्रा झोला र देब्रे हातमा पासपोर्ट तथा म्यानपावर कम्पनीले दिएको कागज पत्र थियो । मास्कले ढाकेको अनुहारमा उनले निराशा लुकाउन सकेनन् ।

रेष्टुरेन्टमा काम गर्न विदेश हिँडेका यादवले भने, ‘बाध्यता भयो रहर पटक्कै थिएन ।’

दोलखाका राजन खत्री पनि टीका र माला लगाएर विमानस्थलबाहिर लाइन लागेका थिए । पहिलो पटक विदेश जान लागेका उनी वेल्डिङको कामका लागि साउदी अरब जाँदै थिए । दशैंको मुखैमा देश छोड्नु पर्दा सारै खल्लो लागेको खत्रीले बताए । यहाँ मरिहत्ते गर्दा पनि धेरै कमाइ नभएपछि विदेश जान लागेको उनको भनाइ थियो । ‘परिवार पनि दुःखी छन्, तर भिसा आयो, जानै पर्‍यो,’ राजनले भने ।

सर्लाही धोविनियाका घोष नारायण पनि बिहीबार बिहान साउदी अरब उडे । विमानस्थल छिर्नुअघि उनले साथीहरुसँग फोटो खिचाए । साउदी अरबमा रोड साइटमा काम पाएको घोष नारायणले सुनाए । दशैंको मुखैमा विदेश जान लाग्दा नमज्जा लागे पनि पहिलो पटक भएकाले कताकता रमाइलो पनि लागेको उनले बताए ।

त्रिभुवन विमानस्थलका अनुसार घटस्थापनाको दिन बिहान ९ बजेसम्म मात्रै नेपाली कामदार जाने ५ गन्तव्यमा नेपालबाट जहाज उडेका छन् । बिहान ७ः३० बजेदेखि ९ बजेसम्म नेपाली लिएर कुवेतका लागि जजिरा एयरले दुईवटा, ओमानको राजधानी मस्कटका लागि सलाम एयरको एउटा र यूएईको शारजहाँको लागि एयर अरेबियाको एउटा र दुबईका लागि फ्लाई दुबईले एउटा उडान भरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!