सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ परेका जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट सिरहाका उम्मेदवार ५४ वर्षीय अशेश्वर यादवलगायत पाँचजना तीन दिनभित्र स्पष्टीकरण बुझाउने गरी छुटेका छन् । प्रचारप्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाइने मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ परेका यादवलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले तीन दिन (२२ फागुन) भित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिँदै छोडिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत भेषराज भट्टराईका अनुसार प्रहरीले बरामद गरी बुझाएको नगदसहित अन्य कागजातहरू अध्ययनपछि तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउने गरी तत्काललाई छोडिएको हो । ‘मौन अविधमा त्यति धेरै रकम किन र कहाँबाट के प्रयोजनका लागि लिएर हिँडेको हो भन्ने विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ उनले भने, ‘लिखित स्पष्टीकरण प्राप्त भएपछि अध्ययन गरी के गर्ने भन्ने निर्णय गरिनेछ ।’ त्यसबाहेक निर्वाचन कसुर र सजायसम्बन्धी ऐनबमोजिम कानुनी कारबाही हुन सक्ने र त्यसमा प्रहरीले अनुसन्धान गर्ने उनले बताए ।

आयोगले निर्णय गरे प्रहरीको अनुसन्धान
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले मौन अवधिमा नगदसहित पक्राउ गरिएका उम्मेदवारको हकमा आयोगले नै लिखित स्पष्टीकरण सोधिसकेको सन्दर्भमा प्रहरीले निर्वाचनको सँघारमा तत्काल केही नगर्ने बताए । लिखित स्पष्टीकरण दिइएपछि आयोगले निर्णय गरेको खण्डमा प्रहरीले अनुसन्धानको काम गर्ने उनले बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएपछि उम्मेदवार यादवसँगै पक्राउ परेका विष्णुपुर– ५, लक्ष्मीपुरका करिब ३२ वर्षीय श्यामकुमार यादव, करिब ३५ वर्षीय रामप्रवेश यादव, करिब ४० वर्षीय बप्रेन्द्रकुमार यादव र सवारीचालक नरहा गाउँपालिका– ३ का करिब २८ वर्षीय जितेन्द्रकुमार महतो छुटेका हुन् ।
सिरहाको विष्णुपुर गाउँपालिका– ५ घर भएका यादवसहित पाँचजनालाई निर्वाचन सुरक्षा गस्तीमा रहेका सुरक्षाकर्मीले निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत नेपाल–भारत सीमामा पर्ने माडर बजार हुँदै सिरहा सदरमुकामतर्फ आउँदै गरेको माडरदेखि उत्तर शिवचोकमा प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियोबाट चार लाख ८७ हजार रुपैयाँ नगदसमेत मंगलबार राति पक्राउ गरेको थियो ।
निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐन, २०७३ को दफा ३० मा निषेधित कार्यका लागि आर्थिक सहयोग लिन वा खर्च गर्न नहुने, उपदफा २ मा विपरीतको कार्य गर्ने राजनीतिक दल वा उम्मेदवारलाई त्यसरी गरेको आम्दानी वा खर्चबराबरको रकम जरिवाना गर्न सक्ने तथा उपदफा ३ मा उपदफा २ बमोजिम भएको जरिवाना ६ महिनासम्म नबुझाउने उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुने गरी बढीमा ६ वर्षसम्म कुनै निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने उल्लेख छ ।



