सिरहा। सिरहा नगरपालिकाका मेयर डा. नवीन कुमार यादवले होली पर्वको अवसरमा नगरपालिकाका २२ वटै वडाका सम्पूर्ण नगरवासीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
निर्वाचन आचारसंहिता ‘मौन अवधिमा’ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदाताले आफ्नो अमूल्य मताधिकार सचेत, जिम्मेवार र विवेकपूर्ण ढंगले प्रयोग गर्नुपर्ने बताएका छन्।

मेयर यादवले निर्वाचनका क्रममा मतदातालाई धन, उपहार तथा अन्य प्रलोभनमार्फत प्रभावित पार्ने प्रयास भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि कानुनविपरीत भएको उल्लेख गरेका छन्। उनले मतदातालाई कुनै पनि प्रकारको लोभ–लालचमा नपरी स्वतन्त्र निर्णय गर्न आग्रह गरेका छन्।
उनले विशेषगरी नक्कली (डुप्लिकेट) नेपाली मुद्रा, विशेषतः ५०० र १००० दरका नोट वितरण गर्ने प्रयास भइरहेको सूचना प्राप्त भएको दाबी गर्दै नागरिकलाई सतर्क रहन अपिल गरेका छन्। यस्तो गतिविधि गैरकानुनी मात्र नभई निर्वाचनको मर्यादाविपरीत रहेको उनको भनाइ छ।
मेयर डा. यादवले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सुनिश्चित गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा मतदाता जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।



