नेपाल प्रहरीनेपाल-भारतसशस्त्र प्रहरीसिमावर्तीसीमा नाका
सीमा क्षेत्रको अनुगमन गर्दै मोरङको धनपालथान पुगेको प्रजिअ काशीराज दाहाल नेतृत्वको टोली ।

विराटनगर । भारतसँग खुला सीमा जोडिएका मोरङका सिमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सुरक्षा सक्रियता बढाइएको छ । नजिकिँदो चाडपर्व र कोरोना महामारीलाई लक्षित गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन एवं निरीक्षण थालेका छन्। चाडपर्वका बेला हुनसक्ने अवैध एवं अवाञ्छित गतिविधी रोक्न भारतसँग सीमा जोडिएका स्थानलाई प्राथमिकतामा राखेर आकस्मिक अनुगमन एवं निरीक्षण थालिएको जानकारी उनले दिए। दाहालका अनुसार सीमा क्षेत्रमा पछिल्लो समय विशेष सुरक्षा सतर्कता अपनाइएको छ।

भारतसँग सोझो सम्पर्क स्थापित भएका ग्रामीण एवं शहरी क्षेत्रका सीमा नाकाको सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको उनको भनाइ छ। नेपाल र सशस्त्र प्रहरीको सहयोगमा प्रजिअ दाहाल नेतृत्वको टोलीले मोरङको धनपालथान, रंगेली लगायतका विभिन्न नाकाको अनुगमन गरेको छ। मोरङमा भारतसँग ६३.४ किलोमिटर खुला सीमा छ। सीमा क्षेत्रबाट हुने चोरी तस्करी लगायतका अवैध धन्दा नियन्त्रण र नेपाल–भारत सीमाको अवस्था बुझ्नलाई अनुगमन तीव्र पारिएको दाहालले बताए। उनले सीमा अपराध, अनावश्यक आवतजावत, चोरी तस्करी लगायत सबै खालका अवैध गतिविधि नियन्त्रणमा लिँदै सीमा क्षेत्रको सुरक्षा व्यवस्था मजवुत बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । सुरक्षामा ध्यान दिँदै सीमा क्षेत्र र पिलर (सीमा स्तम्भ)को अवस्था चुस्तदुरुस्त राख्न प्रजिअ दाहालको निर्देशन छ।

‘छोटी भन्सारहरु नचलेका कारण सामान किनेर भारतबाट आउने सर्वसाधारणहरुले राजस्व तिर्न नपाएर समस्या भोगिरहेको पाइयो,’ उनले भने, ‘सर्वसाधारणलाई सहजीकरणका लागि भूमिका खेल्न सुरक्षा निकायलाई विशेष निर्देशन दिइएको छ । ’दाहालले नेपाल–भारत सीमा छुट्याउने दशगजामा बनेका संरचना तत्काल हटाउनलाई पहल भइरहेको बताए। त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन सशस्त्र प्रहरीलाई निर्देशन दिइएको उनको भनाइ छ।

चाडपर्वका बेला सीमा क्षेत्रमा बढ्नसक्ने मानवीय चहलपहललाई ख्याल गर्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको उनले बताए। दाहालका अनुसार आयात निर्यातलाई चुस्त बनाउन एवं सीमा क्षेत्रमा देखिएका समस्याको समाधान गर्न भन्सार कार्यालय, नेपाल र सशस्त्र प्रहरी तथा राजनैतिक दल र सरोकारवालासँग पनि छलफल गरेर थप रणनीति तयार पारिने छ। सुरक्षा निकायसमेतको समन्वय एवं सक्रियतामा चाडपर्व लक्षित सुरक्षा कार्ययोजना बनाएर लागू गर्दा सीमा क्षेत्रका समस्यालाई विशेष सम्बोधन गरिने जानकारी उनले दिए। ‘सीमा क्षेत्रमा वर्षौदेखि रहेका र चाडपर्वका बेला बजारमा देखिने समस्या समाधान गर्नलाई राजनैतिक दलसँग छलफल भइसकेको छ। खुला नाकालाई व्यवस्थित बनाउन आग्रह गर्दै दलहरुबाट सहयोगको प्रतिवद्धता आएको छ,’ प्रजिअ दाहालले भने, ‘तस्करी एवं अवैध धन्दा नियन्त्रण, सीमा व्यवस्थापन, कोरोना सम्बन्धी सचेतना र प्रभावकारी बजार अनुगमनलाई प्रशासनले प्राथमिकतामा राखेर काम गरिरहेको छ। उद्योगी, व्यवसायी, नागरिक समाज लगायतका सबै पक्षसँग समन्वय गर्दै अघि बढ्ने योजना छ।’

सीमा क्षेत्रको अनुगमन गर्दै प्रजिअ दाहालसहितको टोली।

उनका अनुसार चाडपर्वका बेला हुनसक्ने कालोबजारी, मूल्यवृद्धि एवं म्याद सकिएका सामानको किनबेच रोक्न संयुक्त अनगुमन टोली बनाइने छ। ‘सीमा क्षेत्रदेखि बजारको अनुगमन र निगरानीलाई तीव्र पारिने छ,’ उनले भने, ‘गलत गर्नेहरुलाई कुनै पनि दबाब र प्रभावमा नपरिकन कारबाहीको दायरामा ल्याइने छ।’प्रजिअ दाहालले कोरोना संक्रमणबाट बच्न सर्वसाधारणलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेर सीमा क्षेत्रमा जनेचतनामूलक सन्देशहरु पनि प्रवाह गर्न थालिएको बताए। ‘चाडपर्व नजिकिएकाले नेपालबाट भारतीय बजारमा उपभोग्य वस्तु खरिद गर्न जानेको संख्या अत्याधिक हुने गरेको छ। कामका सिलसिलामा भारत पुगेकाहरु पनि चाडपर्व मनाउनलाई घर फर्कन्छन्,’ उनले भने, ‘सीमा क्षेत्रमा हुने अत्याधिक चहलपहललाई मध्यनजर गर्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउन थालिएको छ। कोरोना संक्रमण नियन्त्रणमा पनि प्रशासन थप चनाखो भएर लागिरहेको छ।’

सीमा नाका पूर्ण रूपमा खुला नभइसकेको अवस्थामा अव्यवस्थित आवतजावतलाई ख्याल गरेर कडाइ गर्दै सतर्कता अपनाइने जानकारी प्रजिअ दाहालले दिए। उनका अनुसार नेपालबाट भारत र भारतबाट नेपालतिर आवतजावत गर्नेहरुले मास्क र सेनिटाइजरको प्रयोग गरे/नगरेको कुरामा ध्यान दिन थालिएको छ। साथै सामाजिक दूरी र सरसफाईमा ध्यान दिन पनि आग्रह गरिएको छ।

दाहालले अभिलेख राख्दै भारतबाट नेपालतिर प्रवेश गर्नेहरुलाई प्रशासनले आवश्यक सहयोग गरिरहेको जानकारी दिए। ‘नेपाल प्रवेश गर्नेहरुले कोरोनाविरुद्धको खोप लगाए/नलगाएको यकिन गर्ने गरिन्छ। आवश्यक देखिएकाहरुको एन्टिजेन परीक्षण गरेर कोरोनाको संक्रमण रहे/नरहेको पत्ता लगाइन्छ,’ उनले भने, ‘नेपाल छिर्नेहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्रै प्रवेश दिनुपर्ने अवस्था छ। त्यसका लागि सीमा नाकामा रहेको ‘हेल्थ डेस्क’का स्वास्थ्यकर्मीले विशेष भूमिका खेल्ने छन्।’

चाडपर्व मनाउन भारतबाट आफ्नो देश फर्कने नेपालीहरुलाई सीमा क्षेत्रमा सास्ती नहोस् र आवतजावतका नाममा अवैध धन्दा हुन नपाओस् भनेर प्रशासनले सक्रियता बढाएको दाहालको भनाइ छ। उनका अनुसार सर्वसाधारणलाई सहज आवागमनको वातावरण मिलाउन पर्याप्त सुरक्षाकर्मी परिचालन गरेर सीमा क्षेत्रमा उचित सुरक्षा व्यवस्था मिलाइएको छ। साथै सुरक्षा सतर्कताका विषयमा ‘काउन्टर पार्ट’सँग पनि छलफल र समन्वय भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!