नेकपा (एमाले) का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरूको सहयोगबिना संसदबाट एमसिसी पास गर्न चुनौती दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कूटनीतिक अभिमुखीकरण : सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोगबिना एमसिसी संसदबाट पास गर्न चुनौती दिएका हुन् ।
विगतमा एमाले नेतृत्वको सरकारले एमसिसी पास गर्न खोज्दा वर्तमान सत्तागठबन्धनकै दलहरूले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरेको भन्ने प्रश्नसमेत गरे । उनले सम्झौता सही थियो भने संसदबाट पास गर्न किन रोकिएको हो भन्ने प्रश्न पनि गरे । एमसिसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै उनले अब सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै आफूहरूको धारणा सार्वजनिक गर्ने स्पष्ट पारे ।
‘त्यो सम्झौता ठीक थियो भने अघिल्लो सरकारले यसलाई अगाडि बढाऔँ भनेकै हो । किनभने दुई देशबीचका सम्झौताहरू भइसकेपछि सरकार आएपिच्छे फेर्दै जाने हो भने कहिल्यै पनि दुई देशबीचका सम्बन्धहरू दिगो हुन सक्दैनन् । सरकार भनेको एउटा अविछिन्न उत्तराधिकारीवाला संस्था हो । अघिल्लो सरकारले गरेको भए पनि यसलाई अगाडि बढाऔँ भन्दा आगो बाल्नु भो उहाँहरुले,’ उनले भने, ‘सम्झौता गर्ने उहाँहरू गाली खाने केपी ओली । सम्झौता गर्ने उहाँहरू गाली खाने हामी त्यतिवेलाका सरकारमा रहेका मान्छेहरू । यदि त्यो गलत थियो भने सम्झौता किन गर्नुभो तपाईहरूले ? यदि सही थियो भने त्यसलाई पास हुनबाट रोक्नु भो, किन तपाईंहरूले ? अनि आज प्रतिपक्षको सहयोग खोजिरहनु भएको छ । आज उहाँहरूसँग संख्या छ, उहाँहरूले अगाडि बढाउने हो भने अगाडि बढाए हुन्छ। जे भन्नुपर्ला प्रस्ताव आइसकेपछि त्यति नै वेला हामीले आफ्नो पोजिसनहरू क्लियर गरौँला।’
नेता ज्ञवालीले एमसिसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने बताए । यसले छिमेकी राष्ट्रहरूमा देशको विश्वसनीयतालाई कमजोर गराउने उनको तर्क छ । उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रूपमा लिएको भन्दै सीमा समस्या नै नभएको चीनसँग भने सीमा समस्या देखाएर सम्बन्धमा चिसोपन निम्त्याउने काम गरेको बताए ।
‘जहाँ समस्या छ, त्यहाँ समाधान नखोज्ने । त्यहाँ पहल नगर्ने । जहाँ समस्या छैन त्यहाँ एकतर्फी ढंगले हल्लाखल्ला गरेर सीमा मिचिएको पहिल्यै निकालि सक्नुभो उहाँहरूले । यो नियमित अनुगमन त होइन । पहिलै मिचिएको निष्कर्ष निकालेर जे गर्नुभएको छ, यो वर्तमान सरकारले दुई देशबीचको सम्बन्धलाई अनावश्यक चिसोपन निम्त्याउने काम गरेको छ,’ ज्ञवालीले भने । नेता ज्ञवालीले दुवै छिमेकी राष्ट्रहरूसँग सन्तुलित र परिपक्व सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए ।