जनकपुरधाम : रेल्वे लिक र रेल स्टेशन निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जामा चित्त नबुझेपछि बर्दिबास नगरपालिकाका स्थानीयवासीले शनिबारदेखि आन्दोलन सुरू गरेका छन् ।

बर्दिबास रेल्वे मुआब्जा पीडित संघर्ष समितिले भदौ ३ गते महोत्तरी जिल्ला प्रशासनले निर्धारण गरेको मुआब्जा उचित नभएको भन्दै आन्दोलन थालेको हो ।

संघर्ष समितिका संयोजक राजु खड्काको अगुवाइमा शनिबार जग्गाधनीहरूले विरोधस्वरूप कालो झण्डा प्रदर्शन गर्दै आ–आफ्नो जग्गामा झण्डा गाडेका छन् । शुक्रवार संघर्ष समितिले निर्धारण गरेको विरोधका कार्यक्रमअनुसार मुआब्जाको विरोधमा कालो झण्डा प्रदर्शन गरी आन्दोलनका कार्यक्रम अघि बढाएको बर्दिवास–१४ का डाकराज पोखरेलले जानकारी दिए ।

मुआब्जा निर्धारण समितिले जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग र पूर्वपश्चिम रेलमार्गसमेत साझा स्टेशन रहने बर्दिबास क्षेत्रको ५९ बिघा जग्गाको मुआब्जा दररेट टुंगो लगाएको थियो । शुक्रबार उक्त दररेट बमोजिम मुआब्जा वितरण गर्नेबारे सार्वजनिक सूचनासमेत मुआब्जा निर्धारण समितिले प्रकाशित गरिसकेको छ ।

संघर्ष समितिले जग्गालाई ३२ शीर्षकमा विभाजन गरी कठ्ठाको सात लाखदेखि ८० लाखसम्म मुआब्जा निर्धारण गरिएकोमा गम्भीर आपत्ती जनाएको छ । कठ्ठाको २० लाख देखि एक करोड २० लाखसम्म मुआब्जावापत पाउनु पर्ने उनीहरूको माग छ ।

जग्गाको उचित मुआब्जा तुरून्त दिनु पर्ने माग पीडितहरूको छ । खड्काले स्थानीय रूपमा संघर्षको बाटोसँगै कानुनी उपचार खोज्न आफूहरू तयार रहेको बताए ।

दुवैतर्फ (पूर्वपश्चिम रेल र बर्दिबास–जनकपुर–जयनगर रेल्वे) को साझा स्टेसन र लिक विस्तारका लागि बर्दिबास १ र १४ मा ५९ बिघा जग्गा नेपाल रेल्वे कम्पनीले सात वर्ष पहिलेदेखि नै रोक्का राख्दै आएको छ ।

मुआब्जा तोक्न सात वर्ष लगाउने निर्धारण समितिले अहिले जग्गाधनीलाई वास्तै नगरी रातारात हतारमा हचुवाको भरमा निर्णय गरेको बर्दिबास–२ का वडाध्यक्ष अभिराम प्याकुरेलले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!