#सिरहापूर्वाधार विकास कार्यालय सिरहा

सिरहा । सिरहा जिल्लामा एक कार्यालय प्रमुख र इन्जिनियरको मिलोमतोमा उपभोक्ता समितिले अर्कै खाता खोलेर रकम झिकेको खुलासा भएको छ ।
सिरहामा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख समेत रहेका सिडिई राजेश लाल कर्ण, इन्जिनियर रामसेवक यादवको संलग्नतामा एक योजनामा फर्जि काम गरी रकम झिकिएको खुलासा भएको हो ।
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवको प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत संचालन ‘सिरहा क्षेत्र नम्बर २ मा चापाकल वितरण कार्य’को बजेटमा सिडिई, इन्जिनियर लगायतको सेटिङ देखिएको छ । उक्त योजना संचालन गर्न ५० लाख बजेट विनियोजन गरेको थियो । पूर्वाधार विकास कार्यालय सिरहाले कार्यक्रम संचालन गर्न उपभोक्ता समिति गठन गर्न आर्थिक मामिला मन्त्री यादवका प्रतिनिधि कैलाश साहलाई जानकारी पठाएको र गत चैत २७ मा उमेश प्रसाद यादव नेतृत्वमा ७ सदस्यीय उपभोक्ता समिति गठन गरिएको थियो । समितिको सचिवमा पुरण कुमार साह, कोषाध्यक्षमा साबित्री कुमारी यादव, सदस्यमा नथुनी मिया, घुरण यादव, राम भरोस साह र कुमारी सदा रहेको थियो ।
तर सिडिई र इन्जिनियरसँगै मन्त्रीको प्रतिनिधि कैलाश साहको संलग्नतामा फर्जि उपभोक्ता समिति गठन गरी रकम झिकिएको छ । विधिवत गठन गरिएका उपभोक्ता समितिका अध्यक्ष उमेश प्रसाद यादवका अनुसार मन्त्रीका प्रतिनिधिले आफूसँग ब्ल्यांक चेक माग गरेको तर नदिदा फर्जि रुपमा नयाँ खाता खोलेर रकम झिकिएको बताएका छन् ।
यता पूर्वाधार विकास कार्यालय सिरहाका डिई राजेश लाल कर्णले वैशाख १३ मा खाता संचालन गर्न राष्ट्रिय वाणिज्य बैंक सिरहा शाखालाई सिफारिसको पत्र लेखेको थियो । उक्त पत्रमा उपभोक्ता समितिका अध्यक्ष उमेश प्रसाद यादव, कोषाध्यक्ष साबित्री कुमारी यादव र सचिव पुरण कुमार साहको नाउँबाट संयुक्त रुपमा खाता संचालन हुने उल्लेख गरिएको छ । उक्त समितिले वैशाख १३ मा राष्ट्रिय बैंकमा गएर ३ हजार रुपैयाँ नगद जम्मा गरी २१३०१००१०१९८१००१ नम्बरको चल्ती खाता खोलेको थियो । तर पूर्वाधार विकास कार्यालयका इन्जिनियर राम सेवक यादवले अर्को खाता खोल्न सिफारिस गरेको थियो ।
खाली चेकमा दस्तखत गरी दिन भनेपछि आफूले इन्कार गरेको भन्दै उनले पछि पूर्वाधार कार्यालयबाट रकम निकासा भएको जानकारी पाएपछि सूचनाको हक अन्र्तगत निवेदन दर्ता गराएको यादवले बताएका छन् । उनले भने,‘मेरो, सचिव पुरण र कोषाध्यक्ष साबित्रिको नाउँबाट संयुक्त हस्ताक्षरबाट संचालनमा रह्ने गरी राष्ट्रिय वाणिज्य बैंक सिरहा शाखामा २१३०१००१०१९८१००१ नम्बरको खाता खोल्यौं ।’
ब्ल्यांक चेक नदिएपछि रकम अर्कै खातामा निकासा गरिएको जानकारी पाएपछि पूर्वाधार विकास कार्यालय सिरहा धाउन सुरु गरेको भन्दै उनले साउन १५ मा सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि पाउँ भनेर सूचनाको हक अन्र्तगत निवेदन दर्ता गराएपनि कार्यालयले सूचना दिन आनाकानी गरेको आरोप लगाएका छन् ।
यता रकम निकासा गर्न योजनाको नाउँ नै परिवर्तन गरेको देखिन्छ । पूर्वाधार विकास कार्यालयले राष्ट्रिय वाणिज्य बैंक शाखा सिरहालाई खाता खोल्न पठाएको सिफारिसमा ‘सिरहा निर्वाचन क्षेत्र नं. २(क) भरी स्यालो टुववेल र चापाकल खरिद तथा जडान कार्यका लागि उपभोक्ता समिति’ भन्ने उल्लेख गरेको छ । तर रकम निकासा गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयमा ‘नि क्षेत्र २(क) भरी टुवेल जडान’ उल्लेख गरी भुक्तानी माग गरेको देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाले उभोक्ता समितिलाई विद्युतीय भुक्तानी माध्यमवाट नेपाल क्रेडिट एण्ड कर्मस बैंक लिमिटेड लहान शाखाको खाता नम्बर ०१८०००००७१४०१ म ४८ लाख ६६ हजार रुपैयाँ असार २७ मा पठाएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवका ‘प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रम’ प्रतिनिधि कैलाश साहले आफूले पनि लगानी गरेको स्वीकार गरेको छ । ‘मैले पनि लगानीमा स्पोर्ट गरेको छु,’ साहले भने,‘योजना रेखदेख गर्ने भूमिका निर्वाह गरेको छु तर ल्यांक चेक मैले किन माग्नु ?
उसको (उमेश प्रसाद साहको) नाउँमा खाता हुँदा भोली रकम निकाल्न आनाकानी हुन्छ भनेर अर्को खाता संचालन गरेको साहको भनाई छ । समितिका बहुमत सदस्यले मिलेर अर्को अध्यक्ष, सचिव र कोषाध्यक्ष चयन गरेको साहको दावी छ । उनले प्राविधिकले गरेको स्टीमेट भन्दा वढी चापाकल वितरण गरेको दावी गरेका छन् ।
नयाँ समितिको अध्यक्षमा यस अघि कोषाध्यक्ष रहेकी साबित्री कुमारी यादव, कोषाध्यक्षमा सदस्यबाट रामभरोस साह र सचिवमा पुरण कुमार साहलाई चयन गरी खाता संचालनमा ल्याएको प्रतिनिधि साहको भनाई छ ।
पूर्वाधार विकास कार्यालय सिरहाका इन्जिनियर रामसेवक यादवले असारमा वढी भीडभाडको बेलामा खाता संचालन गर्न आफूकहाँ धेरै सिफारिस आएकोले दस्तखत गरिदिएको भन्दै घटनाबाट पंछिन खोजेको छ ।
पूर्वाधार विकास कार्यालय सिरहाका सिडिई कर्णले एउटै योजनाको दुई वटा खाता संचालनमा आउन नहुनु भन्दै यसमा आफ्नो कुनै दोष नभएको र साईट इन्जिनिर यादवको गल्तीका कारण यस्तो भएको बताएका छन् ।
यता उपभोक्ता समितिका अध्यक्ष यादवले उक्त घटनाको छानबीन गर्न जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन दर्ता गराएका छन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंलले छानबीन गर्न निर्देशन दिएको बताएका छन् । एउटै योजनामा दुई वटा खाता खोल्नु संकास्पद भएकोले छानबीन गर्न निर्देशन दिएको प्रजिअ कणेंलले बताए ।
कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका निमित्त प्रमुख यम गिरीले पूर्वाधार कार्यालयले गल्ती गरेको बताएका छन् । निमित्ति प्रमुख गिरीले भने,‘सिडिईले गल्ती भएको स्वीकार गरेको छ । २/३ दिनमा मिलाउँछु भन्ने वाचा गरेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!