किसानमुखी पहल र विकासप्रतिको सक्रियताले नगरवासीमा आशा जगाएको वडाध्यक्षको भनाइ
शुभ नारायण कामती
सिरहा । सिरहा नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्ने तयारी गरेको छ। साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीबाट बीउ खरिद गरी वितरण गर्न लागिएको नगरपालिकाको यस पहलबाट गहुँ खेती गर्ने किसानलाई आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ।

नगरपालिकाका एक वडाध्यक्षले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख प्रशासकीय अधिकृत विजय कुमारी प्रसाईको पहलको प्रशंसा गर्दै नगरपालिकाको इतिहासमै पहिलोपटक किसानका लागि अनुदानमा गहुँको बीउ उपलब्ध गराउने निर्णय भएको बताएका छन्।
उनले प्रमुख प्रशासकीय अधिकृत प्रसाईको साहस, इमानदारिता, निर्णय क्षमता र कार्यशैलीले किसानमा नयाँ आशा जगाएको उल्लेख गरेका छन्। विगतमा किसानका लागि गहुँको बीउ उपलब्ध गराउने पहल हुन नसकेको दाबी गर्दै उनले यसपटकको कदमलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।
किसानको हितमा गरिएका कामलाई राजनीतिक दृष्टिकोणबाट नहेर्न आग्रह गर्दै वडाध्यक्षले नगरपालिकाको विकास र सेवा प्रवाह सुधारका लागि प्रमुख प्रशासकीय अधिकृत प्रसाईले क्रमिक रूपमा काम अघि बढाइरहेको बताएका छन्।
नगरपालिकाका कृषि प्राविधिक अधिकृत सुरज यादवका अनुसार किसानलाई सहज रूपमा बीउ उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीबाट गहुँको बीउ खरिद गरी वितरण गर्ने तयारी गरिएको हो। किसानले ५० प्रतिशत अनुदानमा प्रतिकिलो ४४ रुपैयाँका दरले गहुँको बीउ प्राप्त गर्नेछन्।
यसैबीच, कृषि विकास शाखाले मंसिर ७ गते नगरपालिकाका २२ वटै वडाका अध्यक्ष तथा वडा कार्यालयलाई पत्राचार गर्दै गहुँ खेती गर्ने वास्तविक किसानहरूको विवरण उपलब्ध गराउन अनुरोध गरेको कृषि प्राविधिक अधिकृत यादवले जानकारी दिए।
नगरपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सञ्चालन हुन लागेको यस कार्यक्रमले किसानको खेती लागत घटाउन सहयोग पुग्ने तथा उन्नत गहुँ खेतीतर्फ थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।




