नुवाकोट । रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि जनकपुरधामस्थित मुस्लिम युवा नागरिक समाजले संकलन गरेको राहत सामग्री नुवाकोटको होल्डिङ सेन्टरमा हस्तान्तरण गरिएको छ।
राहत वितरण तथा व्यवस्थापनमा जेन–जी अभियन्ता तथा प्रदेश युवा सञ्जाल, मधेश प्रदेशका अध्यक्ष नइम राईन स्वयं सहभागी भएका छन्। राईनले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढीपीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका हुन्।

मुस्लिम युवा नागरिक समाजले बाढीपीडितका लागि ५१ बोरा अर्थात् १३ क्विन्टल चामल, २ बोरा दाल, ६ बोरा चिउरा, ६० कार्टुन खानेपानी, ५५ कार्टुन चाउचाउ, ५ बोरा सोयाबिन, ३ बोरा मुरही–भुजालगायत खाद्यान्न सामग्री उपलब्ध गराएको जनाएको छ।
त्यसैगरी १५० प्याकेट सेनिटरी प्याड, २० प्याकेट फेस मास्क, २० थान सेनिटाइजर, १५० थान टूथब्रस, १५० थान टूथपेस्ट, १०० थान लाइफबोय साबुन, १०० थान कपडा साबुन, १०० थान स्टिल प्लेट, १०० थान स्टिल कचौरा, ५० थान १५ लिटरका बाल्टिन, ५० थान पानी खाने जग, ३५ थान साडी र ५० थान पार्ले–जी बिस्कुट समेत राहत सामग्री हस्तान्तरण गरिएको छ।
राहत वितरणका क्रममा होल्डिङ सेन्टरको अवस्थाबारे जानकारी लिँदै राईनले महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकलाई एउटै स्थानमा राखिएको पाइएको बताए। उनले भीडभाड, सीमित सरसफाइ तथा कमजोर व्यवस्थापनका कारण पीडितको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठेको बताए।
मृतकका शवसमेत सोही परिसर नजिक व्यवस्थापन गरिँदा स्वास्थ्य जोखिम थप बढ्न सक्ने भन्दै राईनले तत्काल सुरक्षित र व्यवस्थित व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
उनका अनुसार ठूलो संख्यामा मानिस एउटै स्थानमा बस्नुपर्ने अवस्था, पर्याप्त सरसफाइको अभाव र सीमित स्वास्थ्य सेवाका कारण संक्रामक रोग फैलिन सक्ने जोखिम छ। विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर छुट्टै तथा सुरक्षित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।
“राहत वितरण मात्र पर्याप्त हुँदैन, पीडितहरूको स्वास्थ्य, सुरक्षा र सम्मानजनक बसोबास सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ,” राईनले भने।
बाढीबाट प्रभावित क्षेत्रमा विभिन्न संघसंस्था, युवा समूह तथा स्वयंसेवक राहत तथा उद्धारमा सक्रिय भए पनि पीडितको दीर्घकालीन पुनःस्थापना, स्वास्थ्य सुरक्षा तथा मनोसामाजिक सहयोगका लागि अझ प्रभावकारी र समन्वित पहल आवश्यक रहेको स्थानीयहरूको भनाइ छ।
बाढीपछि अस्थायी आश्रयमा रहेका परिवारको संख्या बढ्दै जाँदा राहतसँगै सुरक्षित आवास, स्वच्छ खानेपानी, स्वास्थ्य सेवा र सरसफाइको व्यवस्थापनलाई तत्काल प्राथमिकता दिनुपर्ने देखिएको छ।



