काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवारसँग भेट गरेकी छन् । उनले सरकार पीडितको साथमा रहेको बताइन् ।
२०८३ साल असार २० गते राति करिब ११:३० बजे ध्रुवे हात्तीको आक्रमणमा परी माडी नगरपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२३, बेलहट्टा बसोबास गर्दै आएकी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएको थियो । उक्त घटनाप्रति मन्त्री चौधरीले गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिन् ।

मन्त्री चौधरीले वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते भएका सूर्य महतो र मंगले बोटेसँग पनि भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् । उनीहरूलाई जीविकोपार्जनका लागि प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिइएको थियो ।
मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै पीडितलाई समयमै राहत, उपचार र पुनर्स्थापनाको व्यवस्था प्रभावकारी रूपमा अघि बढाइने बताइन् ।
यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन र दीर्घकालीन समाधानका लागि प्रभावकारी योजना कार्यान्वयन गर्न निर्देशन दिइन् ।



