सिरहा, असार २१। सिरहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को विस्तृत बजेट आर्थिक वर्षको अन्तिम चरण अर्थात् असारमा मात्र सार्वजनिक गरेको पाइएको छ। आर्थिक वर्षभर बजेट विवरण सार्वजनिक नगरिँदा नगरपालिकाको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ।

नगरपालिकाको आधिकारिक वेबसाइटसमेत वर्षौँदेखि अद्यावधिक हुन सकेको छैन। वेबसाइटमा आर्थिक वर्ष २०७१/०७२ सम्मका विवरण मात्र उपलब्ध छन् भने त्यसयताका बजेट, खर्च विवरण तथा विकास योजनासम्बन्धी सूचना नियमित रूपमा सार्वजनिक गरिएको छैन।

यही विषय असार ८ गते ११औँ नगरसभामा उपमेयर बबिता कुमारी साहले पनि उठाएकी थिइन्। उनले आफू चार वर्षदेखि बजेट पुस्तिका नै प्राप्त गर्न नसकेको भन्दै जनप्रतिनिधिलाई नै बजेट पुस्तिका उपलब्ध नहुने अवस्था चिन्ताजनक भएको बताएकी थिइन्।

स्थानीय तह सञ्चालन ऐन, २०७४ तथा सूचनाको हकसम्बन्धी कानुनले बजेट तथा सार्वजनिक सूचना समयमै प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ। तर सिरहा नगरपालिकाले आर्थिक वर्षभर बजेट विवरण सार्वजनिक नगरेको र आर्थिक वर्ष समाप्त हुनै लाग्दा मात्र विस्तृत बजेट सार्वजनिक गरेको देखिएको छ।

यसैबीच, चालु आर्थिक वर्ष २०८२/०८३ को अन्तिम संशोधित बजेट पुस्तिका भने अझै सार्वजनिक गरिएको छैन। आर्थिक वर्ष समाप्त हुन केही दिन मात्र बाँकी रहँदा पनि संशोधित बजेट गोप्य राखिएकाले बजेटको वास्तविक आकार, स्रोत तथा खर्चको अवस्था सार्वजनिक निगरानीबाट बाहिर रहेको भन्दै स्थानीयवासीले प्रश्न उठाएका छन्।

स्थानीयवासी तथा सरोकारवालाले नगरपालिकाले बजेट, खर्च विवरण, संशोधित बजेट तथा विकास योजनासम्बन्धी सबै सूचना समयमै सार्वजनिक गर्न, आधिकारिक वेबसाइट नियमित अद्यावधिक गर्न र स्थानीय सरकारको पारदर्शिता तथा जवाफदेहिता सुनिश्चित गर्न माग गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय