काठमाडौं । काठमाडौंको माइतीघरबाट सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीनलाई प्रहरीले बीचबाटोमा नै रोकेको छ । लामो समयदेखि माइतीघरमा धर्ना दिएर बसेका दृष्टिविहीन बिहीबार (असार १८) सिंहदरबार घेराउ गर्ने तयारीमा थिए । तर, उनीहरूलाई प्रहरीले बीचबाटोबाटै फर्काइदिएको हो ।
आफूहरूका माग सम्बोधन गर्न दबाब दिन उनीहरूले सिंहदरबार घेराउको रणनीति बनाएका थिए । सडकपेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका दृष्टिविहीनले सरकारले व्यवसाय गर्न नदिएको भन्दै ११ दिनयता धर्ना दिइरहेका छन् ।

सरकारले दृष्टिविहीनको व्यवस्थापन सम्मानजनक रूपमा गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडकसंगीतजस्ता पेसा निर्बाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनीहरूका माग छ ।
माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने दृष्टिविहीन साधन सुब्बाले बताए । आफूहरूले बुधबार (असार १७) नेकपा (एमाले)को पार्टी कार्यलयअगाडि धर्ना दिएको उनले जानकारी दिए । आफूहरूका मागमा एमालेले ऐक्यबद्धता जनाए पनि धर्ना सहज रूपमा गर्न नदिएको उनले गुनासो गरे ।
एमालेले आफूहरूका माग सम्बोधनका निम्ति अग्रसरता लिने प्रतिबद्धता जनाएको उनले उल्लेख गरे ।



