काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको छविसपाथिभेरा गाउँपालिका–६ स्थित श्री बौठपाली देवता मन्दिर निर्माण योजनामा २२ लाख १ हजार ६६५ रुपैयाँ अनियमितता भएको आरोपमा १० जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आर्थिक वर्ष २०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत नयाँ पर्यटन गन्तव्यको पहिचान तथा विकास गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उक्त मन्दिर निर्माणका लागि दुर्गाथली गाउँपालिकामार्फत ४५ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

अनुसन्धानका क्रममा कुल लागत अनुमान ५६ लाख ७ हजार ८९७ रुपैयाँ ८० पैसा रहेको योजनामा उपभोक्ता सहभागिता ११ लाख ७ हजार ८९७ रुपैयाँ ८० पैसा, कन्टिन्जेन्सी २ लाख २५ हजार रुपैयाँ र नेपाल सरकारको बजेट ४५ लाख रुपैयाँ रहेको पाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार निर्माण कार्यका क्रममा वास्तविकभन्दा बढी काम भएको देखाउने, अस्वाभाविक दररेट कायम गर्ने, सम्झौताअनुसारको जनसहभागिता रकम कम कट्टा गर्ने तथा झुट्टा वित्तीय भरपाईका आधारमा २२ लाख १ हजार ६६५ रुपैयाँ बढी भुक्तानी दिएको तथा लिएको पुष्टि भएको छ।
उक्त कार्यमा संलग्न रहेको आरोपमा दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, तत्कालीन लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन इन्जिनियर हिक्मत रावल, सब–इन्जिनियर बमबहादुर बोहरा, तत्कालीन उपाध्यक्ष राधिका कुमारी रताला, वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष मोहन लाल विक, श्री बौठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा तथा कोषाध्यक्ष मधुलीदेवी बुढाविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८, दफा १९ र दफा २२ बमोजिम कसुर ठहर गरी बिगो असुल, कैद तथा जरिवानाको मागदाबी गर्दै सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।



