तनहुँ । वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषण (रेमिट्यान्स) ले धेरै घरपरिवारको आर्थिक गर्जो टारे पनि तनहुँमा परदेशमा कमाउन गएका ऊर्जावान् युवाले ज्यान गुमाउँदा आँसु बगाउने परिवारको सङ्ख्या धेरै भएका छन् ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत जिल्लामा सञ्चालित आप्रवासी स्रोत केन्द्रको तथ्याङ्क अनुसार विगत साढे छ वर्ष (आर्थिक वर्ष २०७६/७७ मङ्सिरदेखि चालु आव २०८२/८३ को असार ७ गतेसम्म) को अवधिमा वैदेशिक रोजगारीका क्रममा तनहुँका चार महिला र १२४ पुरुष गरी कुल १२८ जना युवा कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।

केन्द्रका जिल्ला संयोजक लुना रानामगरका अनुसार मलेसिया, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) जस्ता मुख्य गन्तव्य मुलुकमा अत्यधिक गर्मी, खानपानमा असन्तुलन र प्रतिकूल वातावरणका कारण नेपाली युवाले ज्यान गुमाउनु परिरहेको छ । विशेष गरी मुटुको गति बन्द हुने (कार्डियाक एरेस्ट), हृदयाघात, कार्यस्थलमा हुने दुर्घटना तथा सवारी दुर्घटनाका कारण नेपाली श्रमिकको अकालमै मृत्यु भइरहेको संयोजक रानामगरले जानकारी दिनुभयो ।
व्यास नगरपालिकाद्वारा मङ्गलबार आयोजित सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या उच्च रहेको तनहुँ जस्तो जिल्लाका लागि सामी कार्यक्रम अत्यन्तै सूचनामूलक भएको बताउनुभयो ।
नेपाल सरकारको युवा, श्रम तथा रोजगार मन्त्रालय, गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र स्थानीय सरकारको संयुक्त नेतृत्व एवं हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रमले तिनै तहका सरकारको सहकार्य महìवपूर्ण हुन्छ भन्ने कुरालाई पुष्टि गरेको प्रमुख न्यौपानेको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय तथा पालिकाको कार्यालयभित्रै रहेर वैदेशिक रोजगारीमा जाने सम्भावित युवा कामदारलाई राहदानी बनाउन समयमै सही सूचना, सिप र सचेतना दिँदा यस्ता दुःखद घटना र ठगीमा कमी ल्याउन तिनै तहका सरकार थप गम्भीर बन्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले वैदेशिक रोजगारीका क्रममा परिवारको खम्बाका रूपमा रहेका युवा अभिभावक गुमाउँदा आश्रित परिवारमा गम्भीर आर्थिक र मानसिक सङ्कट आइपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले कमाउने मुख्य सदस्य गुमाएर गम्भीर शोक र मानसिक तनावमा परेका परिवारका सदस्यलाई स्थानीय तहमार्फत मनोसामाजिक परामर्श सेवा र अन्य राहतका कार्यक्रममार्फत मलम लगाउने प्रयास भइरहेकाले यस मानवीय कार्यलाई नगरपालिकाले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ठुलो रकम ऋण काढेर विदेश गएकाले गर्दा धेरै आम्दानी गर्ने तीव्र दबाब हुने र सोही कारण आराम नगरी लगातार काम गर्दा पनि कतिपय युवा श्रमिकको ज्यान जाने गरेको केन्द्रले जनाएको छ । विदेशी भूमिमा अकालमा ज्यान गुमाएका ती युवाका पीडित परिवारलाई कानुनी न्याय र आर्थिक राहत दिलाउन तिनै तहका सरकार र सामी कार्यक्रमले निरन्तर समन्वय गर्दै आएका छन् ।
वैदेशिक रोजगार बोर्ड, बिमा कम्पनी, स्थानीय तह, विदेशस्थित रोजगारदाता कम्पनी र नेपाली राजदूतावाससँगको निरन्तर सहजीकरण र समन्वयबाट मृत श्रमिकका पीडित परिवारलाई आर्थिक सहायता दिलाउने कार्य भइरहेको आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।
यस्ता दुःखद घटनालाई न्यूनीकरण गर्न वैदेशिक रोजगारीमा जानुपूर्व नै युवाले अनिवार्य रूपमा सम्बन्धित कामको दक्ष सिप सिक्न, गन्तव्य मुलुकको मौसम र कार्यस्थलको सुरक्षा नियमबारे सचेत रहन तथा स्वास्थ्यको विशेष ख्याल गर्न केन्द्रले सञ्चार माध्यममार्फतसमेत अपिल गरेको छ ।



