सिरहा । प्राकृतिक विपद्का बेला प्रभावित समुदायलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले सिरहा नगरपालिका–६ मा निर्माण गरिएको बहु–प्रकोप सुरक्षित आश्रयस्थल बिहीबार सिरहा नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त आश्रयस्थल पीपुल इन निड (पिआइएन) को नेतृत्व तथा अनुगमन, डिसिए नेपाल (डीसीए) को प्राविधिक सहयोग, समावेशी नेपाल (रेन) को साझेदारी तथा सिरहा नगरपालिकाको समन्वयमा निर्माण सम्पन्न भएको हो ।
हस्तान्तरण पत्रअनुसार १६५ जना अट्ने क्षमताको उक्त आश्रयस्थलमा ५० जनासम्मलाई आवासीय सुविधा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ । भवन निर्माण, विद्युतीकरण, शौचालय तथा सरसफाइ सुविधा, इन्टरनेट जडान, खानेपानी शुद्धीकरणका लागि वाटर फिल्टर, प्राथमिक उपचार सामग्री, खोज तथा उद्धार उपकरण तथा आवश्यक फर्निचरसहितको संरचना निर्माणमा कुल १ करोड ६२ लाख ५७ हजार ८६० खर्च भएको जनाइएको छ ।

नेपाल बाढी, डुबान, आगलागी, चट्याङ तथा हावाहुरीजस्ता प्राकृतिक विपद्का दृष्टिले संवेदनशील मुलुक रहेकाले विशेषगरी मधेश प्रदेशका जोखिमयुक्त क्षेत्रमा विपद्को समयमा सुरक्षित आश्रय उपलब्ध गराउने लक्ष्यसहित परियोजना सञ्चालन गरिएको सम्बन्धित संस्थाहरूले बताएका छन् ।
निर्माण सम्पन्न भइसकेपछि आश्रयस्थल तथा त्यसमा रहेका सामग्रीको संरक्षण, सञ्चालन र व्यवस्थापनको जिम्मेवारी वडा नं. ६ अन्तर्गत गठित सामुदायिक विपद् व्यवस्थापन समिति (सीडीएमसी) लाई हस्तान्तरण गरिएको छ । समितिले स्थानीय सरकारसँग समन्वय गरी विपद् व्यवस्थापन, खोज तथा उद्धार, राहत वितरण र पूर्वतयारीका गतिविधिहरू सञ्चालन गर्ने जनाइएको छ ।
सिरहा नगरपालिकाले आश्रयस्थलको नियमित अनुगमन, मर्मतसम्भार, सरसफाइ तथा विपद् पूर्वतयारी र प्रतिकार्य योजनासँग समायोजन गरी प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । हस्तान्तरण सम्झौताअनुसार निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म प्राविधिक जिम्मेवारी निर्माण कम्पनीकै रहने उल्लेख गरिएको छ ।
वडा नं. ६ का वडाध्यक्ष इन्द्रजित कुमार गोठियाको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि सिरहा नगरपालिकाका नगर प्रमुख डा. नवीन कुमार यादवले विपद् जोखिम न्यूनीकरण तथा समुदायको सुरक्षा सुदृढीकरणमा यस्ता पूर्वाधारको महत्वपूर्ण भूमिका रहने बताए । उनले विपद्का समयमा प्रभावित नागरिकलाई सुरक्षित आश्रय, राहत व्यवस्थापन तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन बहु–प्रकोप सुरक्षित आश्रयस्थल प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पूर्वसभासद आशादेवी यादव, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नगर उप-प्रमुख बबिता कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफा, विभिन्न वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।



