काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्तिप्रति संसद्को रोस्ट्रमबाटै माफी माग्नुपर्ने निष्कर्ष निकालेका छन् । सोमबार (जेठ १८) सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी पाँच दलको बैठकबाट प्रधानमन्त्रीको उक्त अभिव्यत्तिप्रति आपत्ति जनाइएको हो ।

उक्त अभिव्यक्ति र लिपुलेक र कालापानीसहितका विषयमा बेलायत सरकारलाई पनि तान्ने कार्य दुवै गम्भीर रहेको विपक्षीको ठहर छ । प्रधानमन्त्रीले आफ्नो भनाइ नसच्याएसम्म संसद् बैठक चल्न नदिने उनीहरूको तयारी छ ।

“सम्माननीय प्रधानमन्त्रीज्यूबाट संसद्को रोस्ट्रममा उभिएर नेपालले भारतको जग्गा मिचेको छ भन्ने भनाइ नेपालको सार्वभौमसत्ताको विरुद्धमा छ । यो भनाइ संसद्को रोस्ट्रमबाटै उभिएर प्रधानमन्त्रीले सच्याउनुपर्छ भन्ने साझा निष्कर्ष निकालियो,” कांग्रेसका सचेतक निश्कल राईले भने, “प्रधानमन्त्रीले आफ्नो भनाइ नसच्याउँदासम्म हामी बजेटमाथिको छलफल अघि बढाउन समर्थन दिँदैनौँ ।”

उनले नेपालले कतै पनि भारतीय भूमि नमिचेको जिकिर गरे । प्रधानमन्त्रीको अभिव्यक्तिले सम्पूर्ण नेपाली जनताको मनमा चोट पुगेकाले त्यसलाई तत्काल सच्याउनुपर्नेमा उनले जोड दिए ।

दुई देशको सीमा विवादमा तेस्रो मुलुकलाई तान्ने विषय पनि गम्भीर कूटनीतिक त्रुटि भएको उनको भनाइ छ ।

नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्म अर्यालले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रघाती भएको टिप्पणी गरिन् । “प्रधानमन्त्रीको भारतको जमिन नेपालले मिचेको छ भन्ने अभिव्यक्ति राष्ट्रघाती छ । राष्ट्रघातको विषय प्रधानमन्त्री संसद्मै उभिएर सच्याउनुपर्छ,” अर्यालले भनिन्, “प्रधानमन्त्रीले नियतवश हो वा अन्जानमा भएको त्रुटि हो, त्यो संसद्लाई विश्वास हुने गरी बताउन सक्नुपर्छ र सच्याउनु पनि पर्छ ।”

प्रतिनिधिसभा नियमावली पनि कसैलाई कानुन/नलाग्ने व्यवस्था गरेर खलबल्याइएको उनले आरोप लगाइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय