सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको मनपरीको विरोधमा सिरहा नगरपालिकाको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरिएको छ ।
सिरहा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरूले आर्थिक प्रशासन शाखामा तालाबन्दी गर्न बाध्य भएको हो । योजनाको भुक्तानी, तलब वितरण तथा प्रशासनिक कार्यमा वेवास्ता गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुको विरोधमा तालबन्दी गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सोनुको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वडा नं. १, ५, ७, १२, १७ र २२ का जनप्रतिनिधिले उक्त शाखामा तालाबन्दी गरेका छन् ।

योजनाको भुक्तानीमा अनावश्यक ढिलाइ, निर्णय कार्यान्वयनमा बेवास्ता तथा सेवाग्राहीप्रति गैरजिम्मेवार व्यवहार गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत सोनु बिहिबार कार्यालय समयमै एक छिनमै बाहिरिएका थिए । चालू आर्थिक वर्ष सकिन लागेको र अगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेटको तयारी गर्नुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत सोनु कार्यालयमा मनपरी गर्दै आएको र नियमित कार्यालयमा पनि नबस्ने गरेका थिए । महिनौं विदापछी गत सोमबारदेखी कार्यालय आउन थालेका सोनु नगरपालिकाको कामलाई प्राथमिकता राख्न बेबास्ता गर्दै आफ्नै सुख सुविधामा तल्लिन रहेको खुलासा भएको छ ।
तालाबन्दीपछि नगरपालिकाको आर्थिक कामकाज पूर्ण रूपमा प्रभावित भएको छ । करार स्वास्थ्यकर्मी तथा स्वयंसेवक कर्मचारीहरूले समयमै तलब नपाएको गुनासो गरेका छन् भने विकास निर्माणसम्बन्धी योजनाको भुक्तानी रोकिँदा कामसमेत प्रभावित बनेको छ । दैनिक सेवा प्रवाहमा अवरोध हुँदा सेवाग्राहीहरू समेत समस्यामा परेका छन् ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुसँग सम्पर्क हुन सकेन । फोन सम्पर्कको प्रयास गर्दा उनले फोन उठाएनन् ।
उता, वडा अध्यक्षहरूको बैठकले ‘सरकारको निर्देशन नमान्ने र नगरपालिकालाई बदनाम गर्ने खोज्ने सोनुसँग सहकार्य गर्न नसकिने’ निष्कर्ष निकाल्दै हालका प्रमुख प्रशासकीय अधिकृतको सट्टा अर्को अधिकृत पठाउन माग गरेको छ ।
सिरहा नगरपालिका वडा ७ का वडा अध्यक्ष विनोद कुमार यादवले जनप्रतिनिधिहरूले नगरपालिकाको कामकाजलाई प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउन प्रशासनिक सुधार ध्यान दिन खोज्दा प्रमुख प्रशासकीय अधिकृतवाट निरन्तर असहयोग भएको र कार्यालयमा समय नदिई बाहिरै बाहिरै बस्ने गरेको बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सोनुकै कारणले औषधि खरिद गर्न टेण्डर प्रक्रिया ढिला हुँदा वडा स्तरमा रहेको स्वास्थ्य संस्थाहरुमा सिटामोल, जिवनजल जस्ता समान्य औषधिको अभाव हुँदै आएको छ । सिरहा नगरपालिकाका मेयर डा नवीन कुमार यादवले प्रमुख प्रशासकीय अधिकृतको कारणले जनताको प्रश्नको सामना गर्नु परेको बताएका छन् ।



