नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणबारे व्यापक प्रश्न उठेपछि सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको आरोप लगाएका छन् ।कांग्रेसले नेतृत्व गरेको स्थानीय पालिकामा डोजर चलाउने काम गर्न नदिने उनले बताए ।
कांग्रेसले शुक्रबार आयोजना गरेको ग्रीन टेबल संवाद कार्यक्रममा सभापति थापाले मन्त्रीको सम्पत्ति र तत्कालीन गृहमन्त्रीको शेयर कनेक्सनलाई मोड्न सुकुम्बासी बस्तीमा डोजर चलाइएको आरोप लगाएका हुन् । ‘जब प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भयो, व्यापक प्रश्न उठ्यो । त्यहीबेला गृहमन्त्रीको विभिन्न कनेक्सनको कुरा आयो र राजीनामा दिने अवस्था आयो,’ थापाले भने, ‘एकपटक अमेरिकामा क्लिन्टन राष्ट्रपति हुँदा महिलासँगको सम्बन्धलाई लिएर हंगामा भयो, क्लिन्टन प्रशासनले त्यो घटना मोड्न क्रुज मिसाइल हानेको थियो । संसारभरका न्यूज मिसाइलतिर गए ।’

सभापति थापाले अमेरिकाको उदाहरण जोड्दै भने– ‘ध्यान मोड्न एकैपटक डोजर चलाउने कुरा आयो, आज सिंगो देश यो विषयमा छलफल भएको छ, त्यो विषय हरायो । नेपालको मिडिया, सार्वजनिक विमर्शमा डिस्ट्र्याक्सन भयो ।’
सभापति थापाले भोट घट्छ भन्ने चिन्ताले संघ सरकारले गरेको गल्ती प्रदेश र स्थानीय सरकारले गर्न नपाउने बताए । ‘प्रदेश र स्थानीय सरकारका साथीहरूले संघले गरेको गल्ती गर्न पाउनु हुन्न । काठमाडौंका वडाध्यक्षदेखि सबै साथीहरूलाई आग्रह छ– कोही मान्छे रिसाउला, सामाजिक सञ्जालमा ट्रोल होला भनेर आफ्नो कर्तव्य भुल्ने हो भने आफ्नो बाटो लाग्नुस्, त्यो कांग्रेसको चरित्र होइन । हाम्रो धर्म छ सत्य र न्यायको पक्षमा उभिने हो,’ थापाले भने, ‘कानुनले दिएको भन्दा बाहिर गएर डोजर चलाउने बाटो कोही पनि हिँड्नु हुन्न ।’



