सिरहा । सिरहा नगरपालिकाभित्र चर्किएको आन्तरिक विवादका कारण प्रशासनिक संरचना नै प्रभावित हुन थालेको छ । पछिल्लो घटनाक्रममा प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले असुरक्षा र कार्यसम्पादनमा अवरोध भएको जनाउँदै घरबिदा लिएका छन् ।
कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख वविता कुमारी साहलाई सम्बोधन गर्दै पठाइएको औपचारिक पत्रमार्फत प्रमुख प्रशासकीय अधिकृत सोनुले नगरपालिकाभित्र उत्पन्न “विशेष परिस्थिती” का कारण कार्यालयमा काम गर्ने वातावरण नदेखिएको दावी गरेका छन् । पत्रमा केही जनप्रतिनिधि तथा उनीहरूसँग आबद्ध सरोकारवालाबाट सामान्य विषयमै विवाद सिर्जना गर्ने, कर्मचारीमाथि दबाब र धाकधम्की दिने प्रयास भईरहेको उल्लेख गरिएको छ ।

उनले कर्मचारीहरू जनप्रतिनिधिबाट असुरक्षित महसुस गरिरहेको अवस्था रहेको भन्दै यस्तो परिस्थितिमा नियमित प्रशासनिक कामकाज सञ्चालन गर्न कठिन भएको स्पष्ट पारेका छन् । असुरक्षा देखिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत सोनुले सिरहा नगरपालिकाबाट वैशाख १० गतेदेखि लागूहुने गरी व्यक्तिगत तथा संस्थागत प्रयोजनका लागि घरबिदामा बस्ने निर्णय गरी पत्र पठाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित रहने अवधिमा नगरपालिकामा कार्यरत सबैभन्दा वरिष्ठ कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई प्रशासनिक कार्यको जिम्मेवारी दिई सेवा प्रवाहलाई निरन्तरता दिन सार्वजनिक भएको पत्रमा आग्रह गरिएको छ । यस घटनाक्रमले सिरहा नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध थप तनावपूर्ण बनेको संकेत दिएको छ । यसअघि पनि आर्थिक प्रशासन तथा भुक्तानी प्रक्रियासम्बन्धी विषयमा विवाद चर्किँदै सेवा प्रभावित भएको थियो ।
स्थानीयवासी तथा सेवाग्राहीहरूले आन्तरिक विवाद तत्काल समाधान गरी नियमित सेवा प्रवाह सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । साथै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सिरहाको ध्यानाकर्षण समेत गराइएको छ । कर्मचारी आन्दोलनले लथालिङ भएको सिरहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको घर विदा बस्ने निर्णयले थप जटिलता उत्पन्न हुने भएको छ । यस विषयमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तत्काल छिनोफानो गर्नुपर्ने सिरहा नगरपालिकाका कर्मचारीहरुको भनाई रहेको । प्रमुख प्रशासकीय अधिकृतको पत्रलाई अध्ययन गर्दा पुनः नगरपालिका आउने सम्भावना कम भएकोले मन्त्रालयले आवश्यक निर्णय गरी समस्याको समाधान गर्नुपर्ने ती कर्मचारीहरुले बताएका छन् ।



