सिरहा । बढ्दो गर्मीसँगै लामखुट्टेको प्रकोप बढ्ने जोखिम देखिएपछि सिरहा नगरपालिका वडा नं. २ मा लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किएको छ। वडा कार्यालयले सोमबार साँझ विभिन्न स्थानमा औषधि छर्किएको जनाएको छ।
वडाध्यक्ष राकेश कुमार यादवका अनुसार लामखुट्टे नियन्त्रणका लागि वडा कार्यालयले मेसिन खरिद गरी अभियान सुरु गरेको हो। वडावासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उक्त कदम चालिएको उनले बताए।

वडा कार्यालयका अनुसार आगामी दिनमा पनि नियमित रूपमा औषधि छर्किने कार्यक्रम सञ्चालन गरिनेछ।
तर, नगरपालिकाका अन्य वडामा भने अझै यस्तो अभियान सुरु हुन सकेको छैन। वार्षिक रूपमा १ अर्बभन्दा बढी बजेट परिचालन गर्ने र १ सयभन्दा बढी निर्वाचित जनप्रतिनिधि रहेको सिरहा नगरपालिकाले सबै वडामा एकैपटक यस्तो आधारभूत स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न नसकेको विषयले प्रश्न उठाएको छ।



