सुर्खेत– सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाले देशभर आक्रोश र चिन्ता बढाइरहेको बेला यस प्रकरणको अनुसन्धान अब केन्द्रीय तहबाट तीव्र बनाइने भएको छ । घटनाको संवेदनशीलता र गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग सहयोग मागेपछि सीआईबीको विज्ञ टोली वीरेन्द्रनगर पुगेको छ जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रारम्भिक अनुसन्धानको काम जिल्लास्तरमै सम्पन्न भइसकेको छ । अब केन्द्रीय टोलीले घटनाका थप जटिल पाटोहरू, प्रमाणहरूको वैज्ञानिक परीक्षण र सम्भावित नयाँ तथ्यहरूको खोजीमा ध्यान केन्द्रित गर्नेछ । प्रहरी निरीक्षकको नेतृत्वमा आएको उक्त टोलीले घटनास्थल, प्रमाणहरू र पक्राउ परेका व्यक्तिहरूको बयानको पुनः परीक्षण गर्ने तयारी गरेको छ ।
प्रहरीले घटनासँग सम्बन्धित पोस्टमार्टम रिपोर्ट प्राप्त गरिसकेको जनाएको छ । साथै पीडित र अभियुक्त पक्षका मोबाइल फोनसहित विभिन्न विद्युतीय सामग्री केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ ।

टक्सिकोलोजिकल (विष विज्ञान) र बायो सेरोलोजिकल (रक्त तथा जैविक पदार्थ सम्बन्धी) परीक्षणका रिपोर्ट प्राप्त भएपछि पोस्टमार्टम प्रतिवेदनसँग मिलाएर घटनाको वास्तविक कारण र क्रम स्पष्ट पार्ने तयारी भइरहेको सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताएका छन् ।
यसका साथै प्रहरीले मोबाइल फोनबाट भएका संवाद, कल डिटेल्स र सामाजिक सञ्जालमा भएका कुराकानीहरूको पनि सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ । अनुसन्धान अधिकारीहरूका अनुसार किशोर–किशोरीबीच भएका डिजिटल संवादहरूले घटनाको पृष्ठभूमि बुझ्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।
पोलिग्राफ परीक्षणबाट बयानको सत्यता जाँच
घटनाको सत्यता पत्ता लगाउन विभिन्न आधुनिक अनुसन्धान प्रविधिहरू प्रयोग गरिँदैछन् । कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जबाट आएको पोलिग्राफ टोलीले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ । पोलिग्राफी परीक्षणमार्फत पक्राउ परेका व्यक्तिहरूले दिएका बयान कति सत्य छन् भन्ने कुरा जाँच्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यस प्रक्रियाले अनुसन्धानलाई थप स्पष्ट दिशा दिन सक्ने विश्वास गरिएको छ ।
पोस्टमार्टम रिपोर्टले देखायो क्रूरता
भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा। अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरेको थियो । प्राप्त पोस्टमार्टम प्रतिवेदन अनुसार जबरजस्ती करणीका क्रममा किशोरीको संवेदनशील अंगमा गम्भीर चोट लागेका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको उल्लेख गरिएको छ । यो विवरण सार्वजनिक भएपछि घटनाको क्रूरता झन् स्पष्ट भएको र समाजमा आक्रोश बढेको छ ।
परिवारले अझै शव बुझेन
प्रहरीका अनुसार हालसम्म पीडित परिवारले शव बुझिसकेको छैन । परिवारले घटनालाई सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कडा कारबाहीको माग गर्दै आएका छन् ।
परिवारले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा औपचारिक उजुरी दर्ता गराएको थियो। उनीहरूको माग छ कि घटनामा संलग्न सबैलाई कडा कानुनी कारबाही गरियोस् र न्याय सुनिश्चित होस् ।
चार जना किशोर पक्राउ
प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेका सबै जना १८ वर्षमुनिका किशोर रहेको प्रहरीले जनाएको छ । घटनाको दिन नै एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिइएको थियो । त्यसको भोलिपल्ट थप तीन जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
समाजमा उठ्यो सुरक्षा र न्यायको प्रश्न
वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा फागुन २३ गते बिहान भएको यस घटनाले बालिका तथा महिलाको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ । स्थानीय बासिन्दा, नागरिक समाज र विभिन्न अधिकारकर्मीहरूले घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषीलाई कडा सजाय दिनुपर्ने माग गरेका छन् । अब सीआईबीको टोलीले अनुसन्धान अघि बढाएपछि घटनाको वास्तविकता र दोषीहरूको भूमिका अझ स्पष्ट हुने अपेक्षा गरिएको छ ।



