मधेश प्रदेशमा पछिल्ला पाँच महिनामा ५६ जना नागरिकको हत्या भएको घटनाप्रति जेन–जी अभियन्ता मो. नईम राईन ले कडा प्रतिक्रिया जनाउँदै राज्यको शान्ति–सुरक्षा संयन्त्रलाई प्रत्यक्ष रूपमा जवाफदेही ठहर गरेका छन्।
राईनले भने, “नागरिकको ज्यान जोगाउन नसक्ने राज्यले आफ्नो संवैधानिक दायित्व पूरा गरेको भन्न मिल्दैन। मधेशमा शान्ति–सुरक्षा कायम गर्न राज्य पूर्ण रूपमा असफल देखिएको छ।” उनले हत्या घटनाहरूको निष्पक्ष, उच्चस्तरीय छानबिन, राजनीतिक संरक्षणको अन्त्य तथा दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

संविधानले शान्ति–सुरक्षा प्रदेशको अधिकार क्षेत्रभित्र राखे पनि प्रहरी समायोजन प्रक्रिया लामो समयदेखि अल्झाइँदा संरचनागत अन्योल सिर्जना भएको उनको आरोप छ। “अधिकार कागजमा मात्रै सीमित राख्ने र व्यवहारमा कार्यान्वयन नगर्ने प्रवृत्तिले मधेशलाई असुरक्षित बनाएको छ,” राईनले उल्लेख गरेका छन्।
निर्वाचनको मुखमा यस्तो असुरक्षित वातावरण रहनु लोकतान्त्रिक प्रक्रियामाथि नै प्रश्न भएको उनको भनाइ छ। “भयरहित वातावरणबिना निष्पक्ष निर्वाचन सम्भव हुँदैन। यदि राज्यले सुरक्षा सुनिश्चित गर्न सक्दैन भने चुनावको विश्वसनीयता कमजोर हुन्छ,” उनले चेतावनी दिएका छन्।
राईनले जेन–जी अभियान सुशासन, पारदर्शिता र सशक्त ‘चेक एण्ड ब्यालेन्स’ का लागि भएको स्पष्ट पार्दै नागरिकस्तरबाट खबरदारी अझ कडा बनाइने बताएका छन्। “मधेशलाई कर र भोटको भूगोल मात्र बनाउने प्रवृत्ति अब स्वीकार्य छैन। शान्ति, सुरक्षा र न्याय सुनिश्चित नगरेसम्म हाम्रो दबाब जारी रहनेछ,” उनले बताएका छन्।
अन्त्यमा उनले सरकारसँग तत्काल प्रहरी समायोजन पूरा गर्न, अपराध अनुसन्धानलाई राजनीतिक प्रभावबाट मुक्त गर्न तथा मधेशमा सुरक्षा व्यवस्थाको पुनर्संरचना गर्न माग गरेका छन्।



